Techie IT
सोमबार, वैशाख ३१,२०८१

चलचित्र ‘बोक्सीको घर’को व्यापार उत्साहजनक


नेपालगन्ज, वैशाख १६ गते । चलचित्र ‘बोक्सीको घर’ यतिबेला देशभरका हलमा सफलताका साथ प्रदर्शन भइरहेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले राजधानी लगायत मोफसलका हलमा ७० र ९० प्रतिशतको अकुपेन्सी गरेको थियो ।

चलचित्रले शनिबार हाउसफुल र आइतबार देशभरिका हलमा मध्यम गतिमा व्यापार गरिरहेको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा समाजमा महिलालाई कसरी बोक्सीको आरोप लगाइन्छ र कसरी समाजमै रहेका व्यक्तिहरुबाट यातना दिइन्छ भन्ने कथालाई प्रस्तुत गरिएको छ ।

सामाजिक कथा भएकै कारणले पनि चलचित्रको कथावस्तु र प्रस्तुतीकरणलाई दर्शकले मन पराएका छन् । हलमा दर्शकको सहभागिता हेर्दा महिलाको उपस्तिथि बाक्लो देखिन्छ।

नेपालगन्जस्थित सिनेमाघर सिनेरोयलका सिईओ रितेश श्रेष्ठले फिल्मले सुरुवातमा राम्रो व्यापार गरेको बताउनुुभयो । उहाँले भन्नुभयो, “राम्रो कथावस्तु भएको नेपाली चलचित्र निर्माण हुँदा दर्शकको उपस्थिति पनि बाक्लो हुनेगरेको हामीले पाएका छौं । शनिबार बिहानी शो देखिनै दर्शकको चाप र चलचित्रको माग बढेकै कारण हामीले हिन्दी चलचित्र रुस्लानलाई हटाएर चलचित्र बोक्सीको घरको शो बढाएका छौं ।”

नेपालगन्जको सिनेमा घर क्युएफएक्स सिनेमाजमा पनि चलचित्र हेर्ने दर्शकको बाक्लो उपस्तिथि रहेको छ । केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा केकी अधिकारी, सुपला सापकोटा, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ ।

बद्री अधिकारी निर्माता रहेको चलचित्रमा राज घिमिरे कार्यकारी निर्माताका रुपमा छन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन छ । टि फल्कस फिल्मसले चलचित्रलाई वितरण गरेको छ । यस्तै, टि फल्कस फिल्मसका अनुसार फिल्मले एक कराेड ५० लाखभन्दा बढी कमाइ गरिसकेकाे छ ।


क्याटेगोरी : समाचार
ट्याग : #चलचित्र 'बोक्सीको घर'को व्यापार उत्साहजनक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
25°
Partly Cloudy
5:15 am6:44 pm +0545