रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने
रामकृष्ण तिमिल्सिना
असार १८ , २०७५ । । रानीपोखरी पुनःनिर्माणका क्रममा यसअघि प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने भएको छ ।
विगत १० दिनदेखि शुरु गरेको उक्त कार्य अबको एक हप्ताभित्र सम्पन्न गरी पुनःनिर्माणका लागि बोलपत्र आह्वान गर्ने र निर्माण कम्पनीलाई जिम्मा दिइसक्ने जानकारी काठमाडौँ महानगरपालिकाले दिएको छ ।
भूकम्प जानुअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो सोहीअनुरुप पुनःनिर्माणको काम सम्पन्न गरिने कामपाका इन्जिनियर राम थापाले बताउनुभयो ।
अठार महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको चौतर्फी विरोध आएपछि विगतमा निर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माणका सामग्री हटाउन लागिएको हो ।
यसअघि कामपाले जेठ १५ गतेदेखि पुनःनिर्माण शुरु गर्ने भनिए पनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन । विसं २०७२ को भूकम्पबाट रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो ।
गत पुस १३ गते पुनःनिर्माणका लागि गठन गरिएको विज्ञ समूहले प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएका थिए ।
प्रताप मल्लले आफ्ना छोरा चक्रबर्तिन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । यो पोखरीको निर्माण कार्य करीब पाँच वर्षभित्र सम्पन्न अर्थात् नेसं ७८९ (विसं १७२५) मा भएको थियो र नेसं ७९० (विसं १७२७÷इसं १६७०) मा शिलापत्र राखिएको थियो । जसलाई नेपाल संवत् ८११ इसं १६११) मा न्हुरपुखुर (न्हुपुखु) अर्थात नयाँ पोखरी भनिएको छ ।
बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रष्ट हुन्छ ।
पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । रानीपोखरीको लम्बाइ १८० मिटर र चौडाइ १४० मिटर ओगटेको छ ।
रोकिएको काम शुरु गर्न गत चैत २२ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीच भएको छलफलले आधुनिक निर्माणको सामग्री हटाउने निर्णय गरेको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #रानीपोखरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्