Techie IT
सोमबार, असार ८,२०८३

विश्वकपका १० कान्छा गोलकर्ताः मेस्सीलाई उछिन्दै नयाँ कीर्तिमान


काठमाडौँ । स्पेनका युवा स्टार लामिन यमल ले विश्वकप इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीहरूको सूचीमा नयाँ कीर्तिमान बनाएका छन्। स्पेनका लागि खेल्दै उनले साउदी अरेबिया विरुद्ध समूह चरणको खेलमा गोल गर्दै टोलीलाई ४–० को शानदार जित दिलाउन महत्वपूर्ण योगदान दिए।

बलोन डीओरका उपविजेता यमल पहिलो खेलमा केप भर्डे विरुद्ध बेन्चमा रहेका थिए। दोस्रो हाफमा मैदान प्रवेश गरे पनि उनले गोल गर्न सकेका थिएनन्। तर साउदी अरेबियाविरुद्ध भने मैदान छिरेको १० मिनेटमै गोल गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन देखाए।

१८ वर्ष ३४३ दिनको उमेरमा गोल गर्दै यमल विश्वकप इतिहासका सर्वकालीन कान्छा गोलकर्ताको सूचीमा आठौँ स्थानमा पुगेका छन्। यससँगै उनले अर्जेन्टिनाका स्टार लियोनेल मेस्सी लाई पछि पारेका छन्। मेस्सीले सन् २००६ मा सर्बिया विरुद्ध १८ वर्ष ३५७ दिनको उमेरमा आफ्नो पहिलो विश्वकप गोल गरेका थिए।

यस सूचीमा इंग्ल्याण्डका माइकल ओवेन पाँचौँ स्थानमा छन्। उनले सन् १९९८ मा रोमानिया विरुद्ध १८ वर्ष १९० दिनको उमेरमा गोल गरेका थिए। प्रतियोगिता सुरु हुनुअघि ओवेन चौथो स्थानमा थिए। तर सेनेगल का इब्राहिम एमबाये ले फ्रान्स विरुद्ध १८ वर्ष १४३ दिनमा गोल गरेपछि ओवेन एक स्थान तल झरे।

यमल आफ्नै टिममेट गाभी भन्दा पनि पछि छन्। गाभीले सन् २०२२ विश्वकपमा कोस्टारिका विरुद्ध १८ वर्ष ११० दिनको उमेरमा गोल गर्दै सूचीको तेस्रो स्थान कब्जा गरेका थिए।

दोस्रो स्थानमा मेक्सिको का मानुएल रोसा छन्। उनले सन् १९३० को पहिलो विश्वकपमा अर्जेन्टिना विरुद्ध १८ वर्ष ९३ दिनको उमेरमा गोल गरेका थिए।

विश्वकप इतिहासकै सबैभन्दा कान्छो गोलकर्ताको कीर्तिमान भने फुटबलका महान् खेलाडी पेले को नाममा सुरक्षित छ। तीन पटकका विश्वकप विजेता पेलेले सन् १९५८ मा वेल्स विरुद्ध १७ वर्ष २९३ दिनको उमेरमा गोल गर्दै अद्वितीय विश्व कीर्तिमान बनाएका थिए।


क्याटेगोरी : खेलकुद
ट्याग : #hot, #विश्वकपका १० कान्छा गोलकर्ताः


तपाईको कमेन्ट लेख्नुहोस्