Techie IT
आईतबार, कात्तिक १६,२०८३

टोखा नगरपालिकाको दोस्रो नगर खेलकुद प्रतियोगिता सुरु, वादोकाई करातेबाट उद्घाटन, अन्तरपालिका फुटबल प्रतियोगितासँगै समापन हुने


टोखा नगरपालिकाको आयोजनामा दोस्रो नगर खेलकुद प्रतियोगिता-२०८३ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । नगर प्रमुख प्रकाश अधिकारीले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले खेलाडीहरूलाई उत्साहपूर्वक एकै ठाउँमा उपस्थित भएको देख्दा आफू अत्यन्तै हर्षित भएको बताउनुभयो । आफू पनि विगतमा फुटबल खेलाडी रहेको स्मरण गर्दै उहाँले खेलकुदप्रतिको आफ्नो रुचि र खेलाडी जीवनका अनुभवसमेत सुनाउनुभयो । नगरपालिकाले खेलकुद क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहनका लागि सधैँ प्राथमिकताका साथ काम गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै, नगरपालिकाको अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माण कार्य निकट भविष्यमै सम्पन्न हुने जानकारी दिँदै उक्त भवन सञ्चालनमा आएपछि खेलकुदलगायत विभिन्न गतिविधि सञ्चालन गर्न थप सहज हुने बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि नगर उपप्रमुख मुरारी तामाङले आफू पनि विगतमा खेलाडी रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले खेलाडीको प्रोत्साहन र खेलकुदको प्रवर्द्धनका लागि नगरपालिका तथा व्यक्तिगत रूपमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी, अतिथि वडा नं। ८ का वडा अध्यक्ष रमेश खत्रीले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक विकासमा मात्र नभई आर्थिक आत्मनिर्भरता र रोजगारीका अवसर सिर्जना गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष तथा टोखा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष एवं नगर खेलकुद समितिका संयोजक नरोत्तम रानाले पहिलो नगर खेलकुद प्रतियोगिताको तुलनामा दोस्रो संस्करणलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र स्तरीय बनाउने प्रयास गरिएको बताउनुभयो । उहाँले नगरभित्रका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्नु नगरपालिकाको उद्देश्य रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन विदेश जाने उत्कृष्ट खेलाडीको भ्रमण खर्चसमेत नगरपालिकाले व्यहोर्ने जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तर्गत कराते, तेक्वान्दो, फुटबल, बक्सिङ, सेपाकताक्रो, ब्याडमिन्टन, रग्बी, भलिबल, बास्केटबल तथा क्रिकेटलगायतका खेल विधा समावेश गरिएका छन् । विभिन्न खेल विधामा प्रतिस्पर्धा गराई नगरभित्रका खेल प्रतिभाको पहिचान, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुद क्षेत्रको विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।

टोखा नगरपालिका वडा नं. ८ मा रहेको वादोकाई कराते भवनमा वादोकाई कराते बाट प्रतियोगिताको औपचारिक सुरुआत गरिएको हो । प्रतियोगिता आगामी पुस महिनाभित्र अन्तरपालिका फुटबल प्रतियोगितासहित सम्पन्न हुने आयोजकले जनाएको छ ।

स्थानीय स्तरमा खेलकुदको विकास, नयाँ प्रतिभाको पहिचान र दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगिताले टोखा नगरपालिकाको खेलकुद क्षेत्रलाई थप व्यवस्थित र सबल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : banner, tags, खेलकुद, समाचार, स्थानीय
ट्याग : #tokha nagarpalika


तपाईको कमेन्ट लेख्नुहोस्