Techie IT
शनिबार, वैशाख ५,२०८३

संखुवासभामा सिलीचोङ अध्यक्ष कप भलिवल प्रतियोगिता आजदेखि शुरु

झापा र भोजपुरसहित ९ टोलीको सहभागिता


सिलिचोङ (संखुवासभा) । सिलीचोङ गाउँपालिकाको आयोजनामा ‘सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरीय भलिवल प्रतियोगिता’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन आज (शनिबार) गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले औपचारिक समारोहबीच गर्ने कार्यक्रम तय भएको छ ।
नयाँ वर्ष २०८३ को अवसर पारेर बैशाख १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता प्राविधिक कारणवश सारिएको थियो । अब भने बैशाख ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेगरी नयाँ मिति तय गरिएको सिलीचोङ गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष खेवाहाङ मेवाहाङले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगिताका सबै तयारीहरू पूरा भइसकेका छन् ।
प्रतियोगितामा संखुवासभा, भोजपुर र झापाका गरी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीहरूमा आयोजक सिलीचोङ गाउँपालिका, चिचिला गाउँपालिका, पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, मकालु गाउँपालिका, चैनपुर नगरपालिका, कन्काई नगरपालिका (झापा), साल्पाशिलिछो गाउँपालिका (भोजपुर) र षडानन्द नगरपालिका (भोजपुर) रहेका छन्।
प्रतियोगिताको विजेताले नगद रु. २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। तृतीय र सान्त्वना स्थान हासिल गर्ने टोलीले क्रमशः रु. ३५ हजार र रु. २५ हजार प्राप्त गर्नेछन् । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, लिबेरो, सर्वर तथा ‘म्यान अफ दि म्याच’ लाई समेत आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।


क्याटेगोरी : खेलकुद, खेलकुद
ट्याग : #अन्तरपालिकास्तरीय भलिवल प्रतियोगिता, #झापा र भोजपुरसहित ९ टोलीको सहभागिता, #संखुवासभा, #सिलिचोङ गाउँपालिका


तपाईको कमेन्ट लेख्नुहोस्