Techie IT
सोमबार, असोज २६,२०८३

गृहमन्त्री गुरूङ भारत प्रस्थान


काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी सोमबार भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन्। गृहमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।

गुरुङ बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन भारत गएका हुन्। उक्त बैठक मंगलबार नयाँदिल्लीमा आयोजना हुँदैछ।

बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत हुन लागेको बैठकमा नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुने कार्यक्रम छ।

बैठकमा सदस्य राष्ट्रहरूबीच साझा सुरक्षा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। क्षेत्रीय सुरक्षा सहकार्य, कानुन कार्यान्वयन तथा सुरक्षा निकायबीच समन्वयका विषय बैठकका महत्त्वपूर्ण एजेन्डा रहनेछन्।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। भेटमा नेपाल र भारतबीच सुरक्षा सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

गृहमन्त्री गुरुङ असोज २८ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #गृहमन्त्री गुरूङ भारत प्रस्थान


तपाईको कमेन्ट लेख्नुहोस्