Techie IT
सोमबार, असोज २६,२०८३

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै


काठमाडाैं । बडादशैंअन्तर्गत आज नवरात्रको दोस्रो दिन । आज नवदुर्गामध्येकी दोस्रोस्वरूप माता ब्रह्मचारिणीको विधिवत् पूजा आराधना गरिन्छ ।

‘ब्रह्म’ शब्दको अर्थ तपस्या वा ज्ञान हुन्छ र ‘चारिणी’को अर्थ आचरण गर्ने वा हिँड्ने भन्ने बुझिन्छ । अर्थात्, तपको आचरण गर्ने वा ब्रह्म (परब्रह्म)मा लीन रहने देवी नै ब्रह्मचारिणी हुन्।माता ब्रह्मचारिणीको स्वरूप अति भव्य, शान्त र तेजोमय मानिन्छ । उनको दाहिने हातमा जपमाला (रुद्राक्षको माला) र देब्रे हातमा कमण्डलु सुशोभित छ । उनले सेतो वस्त्र धारण गरेकी हुन्छिन्, जुन पवित्रता, शान्ति र सात्विकतातको प्रतीक हो ।

हिमालयकी पुत्रीका रूपमा जन्मिएकी माता ब्रह्मचारिणीले देवर्षि नारदको सल्लाहमा भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न हजारौँ वर्षसम्म कडा तपस्या गरेकी थिइन् । यसै कठोर तपस्या (ब्रह्मचर्य)का कारण उनको नाम ‘ब्रह्मचारिणी’ रहन गएको हो । उनले हजारौँ वर्षसम्म केवल फलफूल र कन्दमूल खाएर, पछि केवल सुकेका पातहरू चबाएर र अन्ततः निर्जला व्रत बसी तपस्या गरेकाे धार्मिक ग्रन्थहरूमा उल्लेख छ । उनको यसै कठोर तपस्याले सम्पूर्ण ब्रह्माण्डमा उनको जयजयकार भएको थियो ।

बिहान स्नान गरी शुद्ध भएर पूजाकोठामा माता ब्रह्मचारिणीको ध्यान गर्दै व्रत र पूजाको संकल्प गरिन्छ । मातालाई सेतो रङको वस्त्र, सेतो फूल, अक्षता, चन्दन, र विशेष गरी पञ्चामृत (दूध, दही, घ्यू, मह र चिनी) र फलफूल चढाउने विधान छ । मातालाई शर्करा (चिनी) वा मिठाईको भोग लगाउनु अत्यन्त शुभ मानिन्छ । यस दिन ब्रतालुहरूले उखु वा चिनी दान गर्नाले विशेष फल प्राप्त हुने जनविश्वास छ । ब्रह्मचारिणीको आराधना गर्दा निम्न मन्त्रहरूको जप गरिन्छ:

ध्यान मन्त्र:
दधाना करपद्माभ्यामक्षमालाकमण्डलू।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तरा॥
मूल मन्त्र:
ॐ देवी ब्रह्मचारिण्यै नमः॥

ब्रह्मचारिणीको पूजा आराधना गर्नाले भक्तहरूमा तपस्या, त्याग, वैराग्य, सदाचार र संयम जस्ता गुणहरूको विकास हुन्छ । उनको कृपाले जीवनका हरेक कठिन परिस्थितिमा अडिग रहने शक्ति प्राप्त हुन्छ तथा मन एकाग्र भई मोक्षको मार्ग खुल्ने धार्मिक विश्वास रहेको छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

क्याटेगोरी : समाचार
ट्याग : #hot, #आज नवरात्रको दोस्रो दिन


तपाईको कमेन्ट लेख्नुहोस्