विश्व मानसिक स्वास्थ्य दिवसमा तारकेश्वरमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम
‘अनुभवीहरूको आवाज सुनौँ, वास्तविक आवाज, वास्तविक परिवर्तन’ भन्ने नाराका साथ काठमाडौँको तारकेश्वरमा विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा ‘मानसिक स्वास्थ्य: बुझाइदेखि समाधानसम्म’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय सिर्जनशील समाज र कोमल प्राज्ञिक केन्द्रको संयुक्त आयोजना तथा काठमाडौँ मोडेल अस्पतालको प्राविधिक सहयोगमा तारकेश्वर नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा १०० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो।
कार्यक्रममा मनोचिकित्सक, मनोसामाजिक परामर्शदाता, समाजशास्त्री, क्लिनिकल नर्स, धर्मशास्त्री र ज्योतिषाचार्यहरूसँग मानसिक स्वास्थ्यका विविध पक्षमा घनीभूत छलफल गरिएको थियो। विज्ञहरूले मानसिक स्वास्थ्यको परिचय, समस्याका लक्षण, परामर्श तथा उपचारका उपायबारे प्रकाश पार्दै समाजमा व्याप्त भ्रम र विभेद अन्त्य गर्न व्यक्ति, परिवार, समुदाय र स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिएका थिए।
तारकेश्वर नगरपालिका वडा नं. २ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण खड्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण राष्ट्रिय सिर्जनशील समाजका सचिव एवं तालिम सहजकर्ता प्रकाश ढकालले गर्नुभएको थियो। उहाँले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी स्वस्थ समाज निर्माणका लागि सबै क्षेत्रबीच हातेमालो हुनुपर्ने धारणा राख्नुभयो।
यस्तै काठमाडौँ मोडेल अस्पताल, इन्स्टिच्युट अफ हेल्थ साइन्सेसकी प्रिन्सिपल बिना महर्जनले स्वागत मन्तव्य राख्दै अस्पतालले समुदायस्तरमै पुगेर यस्ता सचेतनामूलक कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। कार्यक्रमको समीक्षा गर्दै नर्सिङ निर्देशक राधिका घिमिरेले मानसिक स्वास्थ्यलाई सबैको साझा जिम्मेवारीका रूपमा लिँदै स्थानीय तहमा मनोसामाजिक परामर्श तथा पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिनुभयो।
अन्तरक्रियामा सहभागी महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य अतिथिहरूले यस्ता उपयोगी कार्यक्रमहरू टोल र वडास्तरसम्म विस्तार गरिनुपर्ने आवश्यकता औँल्याएका थिए। कार्यक्रमको समापन सत्रमा राष्ट्रिय सिर्जनशील समाजका राजेन्द्र अर्यालले मानसिक स्वास्थ्यसम्बन्धी तत्कालै रचित कविता वाचन गर्नुभएको थियो।
सोही अवसरमा संस्थाका सल्लाहकार रामभक्त सिग्देल, राष्ट्रिय सिर्जनशील समाजका अध्यक्ष मोहनकृष्ण अर्याल र कोमल प्राज्ञिक केन्द्रका अध्यक्ष मनिराम लामिछानेले धन्यवाद ज्ञापन गर्दै नजिकिँदै गरेका दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो। मानसिक स्वास्थ्यका समस्यालाई लुकाउने प्रवृत्तिको अन्त्य गर्दै खुलेर संवाद गर्ने र संवेदनशील समाज निर्माण गर्ने प्रतिबद्धताका साथ कार्यक्रम सम्पन्न भएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्