Techie IT
बिहीबार, असार १८,२०८३

महोत्तरीकी प्रतिभा प्रतिष्ठा आचार्य मिस नेपालको अन्तिम २४ मा


जीवनराज दाहाल | बर्दिबास, महोत्तरी :
महोत्तरीको बर्दिबास नगरपालिका–५, चेरुकी प्रतिष्ठा आचार्य मिस नेपाल २०२६ प्रतियोगिताको अन्तिम २४ प्रतिस्पर्धी (टप–२४) मा स्थान बनाउन सफल भएकी छन् ।

मिस नेपालको आयोजक द हिडन ट्रेजरले मंगलबार ललितपुरस्थित द प्लाजामा आयोजित विशेष कार्यक्रममा अन्तिम २४ प्रतिस्पर्धीको नाम सार्वजनिक गर्दै उनीहरूलाई आधिकारिक प्रतियोगी नम्बर प्रदान गरेको हो । प्रतिष्ठाले प्रतियोगी नम्बर १० प्राप्त गरेकी छन् ।

२० वर्षीया प्रतिष्ठा बलराम आचार्य र सीता आचार्यकी छोरी हुन् । उनी हाल स्नातक तहमा अध्ययनरत छिन् । बर्दिबास–५, चेरुलाई स्थायी घर बनाएकी प्रतिष्ठा अहिले भक्तपुरमा बसोबास गर्दै आएकी छन् । मोडलिङसँगै राजनीति क्षेत्रमा पनि रुचि राख्ने उनी यसपटक मिस नेपालको ताज जित्ने लक्ष्यका साथ प्रतिस्पर्धामा सहभागी भएकी हुन् ।

आयोजकका अनुसार यस वर्षको प्रतियोगितामा डाक्टर, अधिवक्ता, विद्यार्थी तथा विभिन्न पेशा र क्षेत्रका प्रतिभावान युवतीहरूको सहभागिता रहेको छ । अघिल्ला सौन्दर्य प्रतियोगितामा उपाधि जितिसकेका प्रतिस्पर्धीहरू पनि यसपटकको प्रतिस्पर्धामा छन्, जसले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।

प्रतिष्ठालाई समर्थन गर्न चाहने शुभेच्छुकहरूले आयोजकले उपलब्ध गराएको QR कोड मोबाइल बैंकिङ एपमार्फत स्क्यान गरी भोट गर्न सक्नेछन् । प्रत्येक भोटको शुल्क १० रुपैयाँ तोकिएको छ भने एक व्यक्तिले न्यूनतम एकदेखि असीमित संख्यामा भोट गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

मिस नेपाल २०२६ को ग्रान्ड फिनाले आगामी साउन महिनामा ललितपुरस्थित द प्लाजामा आयोजना हुने तय भएको छ । प्रतिष्ठा आचार्य टप–२४ मा छनोट भएसँगै बर्दिबाससहित महोत्तरी जिल्लाभर खुसीको माहोल छाएको छ भने उनलाई विजयी यात्राको शुभकामना दिने क्रम निरन्तर बढिरहेको छ ।


क्याटेगोरी : जीवनशैली, समाचार
ट्याग : #bardibas, #mahottari, #Miss Nepal 2026, #pratistha acharya


तपाईको कमेन्ट लेख्नुहोस्