संखुवासभामा निर्वाचन केन्द्रित तयारी तीव्र
राजनीतिक दलहरु संग छलफल
संखुवासभा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र पार्दै जिल्ला प्रशासन कार्यालय संखुवासभाले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको छ । छलफलमा निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा नीति लागू गरिने जानकारी दिइएको छ ।
मङ्गलबार सम्पन्न छलफलमा दलका प्रतिनिधिहरूले निर्वाचन आयोगको प्रचारप्रसार कार्यक्रम गाउँस्तरसम्म प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने तथा संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था थप कडाइ गर्नुपर्ने सुझाव दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार केन्द्रीय सुरक्षा नीतिअनुसार जिल्लाभर सुरक्षा निकाय परिचालन गरिनेछ । सम्बन्धित सबै पक्षसँगको समन्वय र सहकार्यमा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सुरक्षा रणनीति तयार गरिएको उहाँले बताउनुभयो ।
निर्वाचन सुरक्षाका लागि तीन घेरामा सुरक्षा व्यवस्था मिलाइने योजना बनाइएको छ। पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल तथा तेस्रो घेरामा नेपाली सेना परिचालन गरिनेछ ।
जिल्ला सुरक्षा समितिले जिल्लाका कुल १०९ मतदानस्थलमध्ये आठवटालाई अति संवेदनशील, ८२ वटालाई संवेदनशील र १९ वटालाई सामान्य सूचीमा वर्गीकरण गरेको छ। सोहीअनुसार सुरक्षाकर्मी र साधन परिचालन गरिने जनाइएको छ ।
निर्वाचनलाई सफल बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी करिब दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको छ ।
मतदाताको पहुँच सहज बनाउन यस पटक मतदानस्थल र मतदान केन्द्रको संख्या वृद्धि गरिएको छ । यसअघि १०८ मतदानस्थल रहेकामा एक थप गरी १०९ पुर्याइएको छ भने मतदान केन्द्र १६२ बाट बढाएर १६४ कायम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख सन्तोष राईका अनुसार भोटखोला गाउँपालिका–४ स्थित बरुण आधारभूत विद्यालय, सिप्रुङमा नयाँ मतदानस्थल थप गरिएको छ। यस्तै चिचिला गाउँपालिका–४ र मकालु गाउँपालिका–२ मा एक–एक मतदान केन्द्र थप गरिएको छ । भौगोलिक विकटताका कारण मतदाताले चारदेखि पाँच घण्टासम्म हिँड्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
विसं २०७९ को निर्वाचनमा एक लाख १७ हजार ५५४ मतदाता रहेको संखुवासभामा यस पटक दुई हजार ७६ नयाँ मतदाता थपिएका छन् । यससँगै जिल्लामा कुल मतदाता संख्या एक लाख १९ हजार ६३० पुगेको छ ।
निर्वाचनको तयारीलाई थप तीव्र बनाउँदै माघ २ गते जिल्ला हुलाक कार्यालय परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिइएको छ । प्रजिअ थपलियाका अनुसार जिल्ला कमाण्ड पोस्ट र जिल्ला निर्वाचन सुरक्षा सेल गठन भइसकेको छ भने सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्वाचन प्रहरी भर्ना प्रक्रिया पनि अघि बढाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##जिल्ला प्रशासन कार्यालय लमजुङ, #आम निर्वाचन, #फागुन २१, #राजनीतिक दल, #संखुवासभा, #सुरक्षा तयारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्