Techie IT
बिहीबार, वैशाख १०,२०८३

काठमाडौँमा वायु प्रदूषण बढ्यो : एक्युआई


सविन श्रेष्ठ

काठमाडौँ, वैशाख १० — काठमाडौँ उपत्यकामा वायु प्रदूषण पुनः तीव्र रूपमा बढेको छ। केही दिनअघि वर्षाका कारण सुधारिएको वायु गुणस्तर फेरि खस्किँदै ‘धेरै अस्वस्थ’ स्तरमा पुगेको छ।

एयर क्वालिटी इन्डेक्स (AQI) अनुसार मङ्गलबार दिउँसो करिब ९२ रहेको सूचकाङ्क आज बिहान ११ बजेसम्म बढेर २४७ पुगेको छ। यो स्तर स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ।

AQI मापदण्डअनुसार ०–५० ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ श्रेणीमा पर्छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने चलन र वन डढेलो वायु प्रदूषण बढ्नुका मुख्य कारण हुन्। वर्षा नहुँदा धुलो र धुवाँ वायुमण्डलमै थुप्रिने भएकाले प्रदूषण नियन्त्रणमा चुनौती बढेको उहाँले बताउनुभयो।

त्यस्तै, जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको र तापक्रम अझै बढ्न सक्ने जानकारी दिनुभयो। यसले वायु प्रदूषण थप बढ्ने जोखिम रहेको उहाँको भनाइ छ।

विशेषज्ञहरूले बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुका बिरामीहरू बढी प्रभावित हुने भएकाले अत्यावश्यक बाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन आग्रह गरेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँमा वायु प्रदूषण बढ्यो : एक्युआई Skip to Editor


तपाईको कमेन्ट लेख्नुहोस्