‘स्मार्ट’ चालक अनुमतिपत्र चार महिनामा छापिसकिने

यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै अहिले विभागमा रहेका अनुमतिपत्र चार महिनामा छापिसकिने र अबका दिनमा थप हुने अनुमतिपत्र अर्काे दुई महिनामा छापिसक्ने लक्ष्य लिइएको विभागले बताएको छ । प्रविधिमा कुनै पनि किसिमको समस्या नआए समयमै काम सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।
अबको छ महिनामा सेवाग्राहीले परीक्षा पास गरेको केही दिनमै अनुमतिपत्र पाउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले रहेको छाप्न बाँकी अनुमतिपत्र सकिँदा मास प्रिन्टरको क्षमताले मागअनुसार छाप्न सक्छ ।” झण्डै आठ लाख चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहँदा गत असोजमा उपकरण ल्याइएको थियो । सो उपकरण आइपुगेको दुई महिनासम्म पनि जडान गर्ने र तथ्याङ्क सार्नेलगायतका काम भएपछि गत महिनाबाट उपकरण सञ्चालनमा आएको हो । पहिलो केही साता एक सिफ्टमा मात्रै सञ्चालन भएकामा दुुई सिफ्ट हुँदै अहिले तीन सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ । अहिले दैनिक सात÷सात घण्टा गरी तीन सिफ्टमा सञ्चालन भइरहेको महानिर्देशक हमालले बताउनुभयो ।
दैनिक २१ घण्टामा उपकरण समयसमयमा रोकेर १५ देखि १६ घण्टा प्रयोगमा ल्याइएको छ । उहाँले भन्नुभयो, “अहिले मास प्रिन्टरबाट दैनिक झण्डै पाँच हजार अनुमतिपत्र छपाइ भइरहेको छ ।” मास प्रिन्टरसँगै विभागमा विगतदेखि सञ्चालनमा रहेका साना क्षमताका तीन प्रिन्टर छन् । तीन प्रिन्टर’ ले दैनिक झण्डै एक हजार अनुमतिपत्र छापिरहेको छ । मास प्रिन्टर परीक्षणकालदेखि अहिलेसम्म नियमितरूपमा सञ्चालनमा छ । अहिलेसम्म कुनै पनि किसिमको समस्या नआएको उहाँले बताउनुभयो । विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयहरुबाट आवेदन आइरहेको छ । हस्तलिखित अनुमतिपत्र विस्थापित गर्न परीक्षा पास भएका र नवीकरण गर्ने दुवै सेवाग्राहीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गरिँदै आइएको छ । यातायात कार्यालयहरु प्रदेश सरकारमा हस्तान्तरण भइसके पनि ती कार्यालयबाट आएका आवेदनबाट विभागले अनुमतिपत्र छापिरहेको छ । कतिपय प्रदेश सरकारले विगतमा अनुमतिपत्र छपाइमा ढिलाई हुँदा आफैँ छाप्ने बताए पनि अहिलेसम्म कुनैले पनि छाप्ने काम गरेका छैनन् । विभागमा विगतका वर्षमा उपकरणको क्षमताभन्दा माग बढी रहेको थियो ।
त्यस्तै छपाइ गर्न कार्ड पनि पर्याप्त नभएको विभागले बताउँदै आएको थियो । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्ने ‘मास प्रिन्टर’ सँगै १० लाख कार्ड खरिदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । सबै कार्ड आइसकेकाले अहिले त्यो समस्या पूरै हटिसकेको महानिर्देशक हमालले बताउनुभयो । उहाँले भन्नुभयो, “डेढ लाख कार्ड छपाइ गरिसकेका छौँ, अझै आठ लाख ५० हजार कार्ड हामीसँग छ ।” विभागले गत वर्ष ग्लोबल खरिद प्रक्रियामार्फत मद्रास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरिद गरेको हो । विभागमा छपाइ गर्नसक्ने क्षमताभन्दा माग धेरै गुणा बढी हुँदा विगतमा झण्डै एक वर्षसम्म सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन् ।
कतिपय कार्ड भने छापिएको लामो समय हुँदासमेत सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठीन भएको यातायात व्यवस्था कार्यालयहरुले बताउँदै आएका छन् । विभागमा रहेका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै रहेको छ । पहिले सात वटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न शुरु गरेको थियो । तीमध्ये अहिले तीन वटा मात्रै काम गर्ने अवस्थामा छन् । ‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हटाउन मन्त्रालयले पनि चासो देखाउँदै आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमै विभागमा पुगेर ‘मास प्रिन्टर’ अवलोकन गर्दै विभागलाई समयमै चालक अनुमतिपत्र छपाइ गरिसक्न निर्देशन दिनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #‘स्मार्ट’ चालक अनुमतिपत्र, #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्