Techie IT
शुक्रबार, साउन ४,२०८१

को हुन् दीपक खड्का, के छ उनको राजनीति र विकासको साइनो ?

२०४२ सालदेखि नै कांग्रेसमा सक्रिय दीपक खड्काको यस्तो छ राजनीतिक यात्रा


पञ्‍चायती व्यवस्था उत्कर्षमा थियो। वामपन्थी तरुण र विद्यार्थीहरू पहिले नै गाउँमा संगठित बनिसकेका थिए। गाउँ तहसम्म नेपाल विद्यार्थी संघको नामोनिशान थिएन। त्यस्तैमा संखुवासभाको आँखिभुईं गाउँका केही किशोर आफ्नो विद्यालयमा नेविसंघको तदर्थ समिति बनाउन अगाडि सरे। र, ०४२ सालमा उनीहरू अध्ययनरत अमरुवा माध्यमिक विद्यालयमा पहिलोपटक नेविसंघको तदर्थ समिति गठन भयो।

तिनै किशोरमध्ये थिए, दीपक खड्का। आफ्नो विद्यालयमा नेविसंघको पहिलो तदर्थ समितिको सचिव बने, उनी। एकातिर पञ्‍चहरूको ज्यादती, अर्कातिर तत्कालीन नेकपा (माले)को विद्यार्थी संगठन अनेरास्ववियूको दबदबा। नेविसंघको तदर्थ समिति खुला रूपमा गठन गर्न कहाँ सजिलो थियो र ! त्यसैले उनीहरूले कसैले थाहा नपाउने गरी संगठित बन्‍ने अठोट लिए। अनि विद्यालय र आफ्नो घरभन्दा केही टाढा स्थानीय जागिर गाउँको एक समलीको फेदमा बसेर उनीहरूले नेविसंघको तदर्थ समिति गठन गरे। र, त्यसलाई भित्रभित्रै विस्तार गर्दै लगे।

किनकि, सार्वजनिक रूपमा प्रकट हुँदा पञ्‍चायती प्रहरी र अनेरास्ववियू दुवैको निशानामा परिने डर थियो। त्यसै पनि पञ्‍चायती व्यवस्थामा दलहरू प्रतिबन्धित थिए। ‘भित्ताको पनि कान हुन्छ’ भन्‍ने गरिएको त्यो समयमा पञ्‍चायती व्यवस्थाका जासुसहरू अति सक्रिय थिए। त्यसैले आफ्नो विद्यालयमा नेविसंघको संगठन भूमिगत रूपमै तयार पारे उनीहरूले। र, त्यसका लागि प्रेरणको स्रोत थिए, दीपकका काका ईश्‍वरी खड्का र बुवा द्रोणबहादुर खड्का।

उनको गाउँ आँखिभुईंमा ती जो युवा-किशोरहरू नेविसंघ हुँदै कांग्रेसको राजनीतिमा आए, पञ्‍चायती व्यवस्था ढलेर प्रजातन्त्रको पुनःस्थापना भएपछि मात्र आए। त्यसबीचका करिब ६ वर्ष आँखिभुईंमा नेविसंघ सुशप्त नै रह्यो। कारण- संगठन स्थापना गर्न अगाडि सर्ने दीपकलगायत युवा उच्चशिक्षा अध्ययनका लागि काठमाडौंलगायत शहरतिर लागे। किनकि, त्यतिबेला गाउँमा उच्च शिक्षाको पहुँच पुगेकै थिएन। शहरमा पुगे पनि उनीहरू कांग्रेस र नेविसंघबाट टाढा रहेनन्। कुनै न कुनै रूपमा संगठित भइरहे।

तत्कालीन आँखिभुईं गाविस वडा नम्बर ६ अर्थात हालको धर्मदेवी नगरपालिका वडा नम्बर ८ मा १५ असार ०२८ मा जन्मेका हुन्, दीपक खड्का। गाउँको मध्यम वर्गीय परिवारमा हुर्केका हुन् उनी। किशोर वयमै राजनीतिमा रस पसिसकेका उनी राजनीतिबाट अछुतो कहाँ रहन सक्थे र ! उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगेका उनी ०४६ सालको जनआन्दोलनमा सक्रियतापूर्वक सहभागी थिए। त्यसबीचका अनेक सार्वजनिक आन्दोलनमा उनी सक्रिय बनिहाल्थे।

२०४६ सालको आन्दोलनमा सक्रियता तथा प्रजातन्त्रको पुनःस्थापनापछि पनि उनले आफ्नो पढाइलाई निरन्तरता दिइरहे। र, त्रिभुवन विश्‍वविद्यालयबाट मानविकी तथा समाजशास्त्र संकायमा स्नातकोत्तर उत्तीर्ण गरे। सीप सिके, त्यसका लागि विदेश पनि पुगे। विदेशमा सिकेको सीप स्वदेश फर्केर आफ्नै मातृभूमिमा उपयोग गरे।

र, ०६७ सालमा गृहजिल्ला संखुवासभाबाट महासमिति सदस्य निर्वाचित भए। ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन संखुवासभा क्षेत्र नम्बर २ बाट सभासद् निर्वाचित भए। करिब चार वर्षको संविधानसभा सभासदको कार्यकालका क्रममा ०७३ सालमा उनी खानेपानी तथा सरसफाइ राज्यमन्त्री नियुक्त भए।

उनको दिमागमा जिल्ला विकासका अनेकौं खाका त्यसअघि नै कोरिइसकेका थिए। राज्यमन्त्री नियुक्त भएसँगै उनले ती खाका धमाधम कार्यान्वयनमा ल्याए। संखुवासभाको तत्कालीन निर्वाचन क्षेत्र नम्बर २ मा चक्रपथ निर्माण शुरु गरे। झण्डै ११० किलोमिटर लामो यो चक्रपथले संघीयता कार्यान्वयनसँगै गठन भएका धर्मदेवी, मादी, चैनपुर नगरपालिकाका अधिकांश वडा समेट्छ। खानेपानी मन्त्रीका रूपमा उनले जिल्लामा खानेपानीमा क्रान्ति नै ल्याए। जिल्लामा कहिल्यै प्रवेश नभएको खानेपानीको ‘लिफ्ट सिस्टम’ संखुवासभामा प्रवेश गराए। त्यसलाई आफ्नो गृहजिल्लामै सीमित राखेनन्। रामेछाप, खोटाङलगायत जिल्लामा पनि विस्तार गराए। अहिले संखुवासभाको तुम्लिङटारमा अरुण नदीबाट लिफ्टमार्फत पानी तानेर वितरण गरिसकिएको छ। धर्मदेवी, चैनपुरलगायत नगर क्षेत्रमा पनि यही प्रविधि अपनाएर पानीको अभाव सधैंका लागि अन्त्य गर्ने योजना कार्यान्वयनमा लागिपरेका छन् उनी।

दीपक खड्काको दिमागमा एउटा मात्रै विचार आइरहन्छ, मेरो जिल्लाको विकास कसरी गर्ने ? ०७४ सालको निर्वाचनमा वाम गठबन्धनका कारण उनले प्रतिनिधिसभामा निर्वाचित हुन पाएनन्। उनलाई पराजित गरेका एमालेका सांसदले खड्काले ल्याएका सबैजसो योजना धमाधम कटौती गरिदिए। अहिले जहाँ पुग्छन्, उनको मनमा आइहाल्छ- ‘हत्तेरी यो सडक लथालिंग बनेछ, ओहो यहाँ अस्पताल बनेन छ, विकासमा धेरै पछाडि परेछ मेरो जिल्ला।’

उनी ०७४ सालमा सांसद निर्वाचित हुन्थे त अहिलेसम्म किमाथांका सडक चीनको सीमासम्म जोडिइसकेको हुने थियो। सिलिचोङ र मकालु गाउँपालिका जोड्ने अरुण नदीका पुलहरू बनिसकेका या बन्दै हुने थिए। किनकि, दीपक खड्का हल्ला मात्र गर्ने ‘कस्मेटिक राजनीति’मा विश्‍वास गर्दैनन्, काममा विश्‍वास गर्छन्। जनताको सुख, सुविधामा विश्‍वास गर्छन्। उनी परिणामसहितको राजनीतिका हिमायती हुन्।

जस्तो- संखुवासभाका सबै पालिकामा १५-१५ शय्याका अस्पताल निर्माणको योजना ल्याएका थिए उनले। ०७४ सालमा निर्वाचित भएका एमालेका सांसदले १५ शय्यालाई ५ शय्यामा झारिदिए। खड्काले अस्पताल निर्माण गर्ने तयारी गरेका केन्द्र सारिदिए। उनी जब ती ठाउँमा पुग्छन्, स्थानीय बासिन्दा उनी सामु चुकचुकाउँछन्, ‘हत्तेरी तपाईंलाई हराएर हाम्रो जिल्ला पछाडि पर्‍यो नि !’ र, उनीसँग वाचा गर्छन्, ‘यसपालि जसरी पनि जिताउँछौं।’

संखुवासभामा विकासप्रेमी नेताको परिचय बनाएका छन्, दीपक खड्काले ।

२८ असार ०७७ मा सिलिचोङ गाउँपालिका-१ मा पहिरोले जनधनको ठूलो क्षति भयो। आफू सांसद निर्वाचित भए-नभएको उनले कुनै वास्ता गरेनन्। निजी खर्चमै मृतक, घाइते र पहिरोबाट विस्थापित परिवारलाई तत्काल हेलिकोप्टरबाट तत्काल खाद्यान्‍न, पानीको पाइप, कपडालगायत राहत सामग्री पुर्‍याए। र, विस्थापित परिवारलाई बसोबासको प्रबन्धमा जुटे।

सोही वर्ष पुसमा शुरु भएको कोरोना महामारीका बेला निर्वाचित सांसदहरू जस्तो काठमाडौं या शहरी इलाकामा ‘आइसोलेट’ भएर बसेनन्, जिल्लावासीलाई राहत पुर्‍याउन जुटिहाले। खाँदबारी, मानेभञ्‍ज्याङ, चैनपुर, तुम्लिङटार, मुढे शनिश्चरे, खराङलगायत विभिन्‍न इलाका पुगेर सेनिटाइजर, मास्क, खानेपानीको ट्यांकी वितरण गरे। लकडाउनका बेला देशका विभिन्‍न शहरमा अलपत्र परेका जिल्लावासीलाई निजी खर्चमा गाडी रिजर्भ गरेर आ-आफ्नो गाउँसम्म ल्याए। राज्यले आह्वान गरेअनुसार आफ्नोतर्फबाट आर्थिक सहयोग उपलब्ध गराएर नागरिकप्रतिको दायित्व पूरा गरे।

संखुवासभाली कोही दुःखविराम परेमा तीनको उपचार र उद्धारमा जुटिहाल्ने उनको स्वभावले पनि जिल्लावासीमा हरकिसिमले भर पर्न सकिने नेताको छवि बनाएका छन् उनले ।

खानेपानी राज्यमन्त्रीका रूपमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउने परियोजनालाई तीव्रता दिन उनको भूमिका प्रशंसायोग्य थियो। काठमाडौमा अव्यवस्थित ढलको समस्या समाधान गर्न उनी आफैं रातविरात अनुगमनमा निस्किन्थे। जसको कारण दिउँसो राजधानी काठमाडौको सडकमा सवारी आवागमन सञ्‍चालन गर्न मद्दत पुग्यो। संघीय मन्त्रीको हैसियतमा कार्यसम्पादनको दृष्‍टिकोणमा खरो उत्रे।

उनको एउटै अर्जुनदृष्‍टि छ, संखुवासभालाई नमूना जिल्ला बनाउने। ताकि, भविष्‍यमा संखुवासभाको नागरिकता बोकेर हिँड्ने विषय गर्विलो बनोस्। जिल्लाका ठूला जलविद्युत आयोजनामा जिल्लावासीलाई मालिक बनाउने लक्ष्‍यमा हिँडेका छन् उनी, जुन जिल्लाको विकासका लागि गेम चेन्जर बन्‍ने उनको अवधारणा छ। ती जलविद्युत आयोजनाबाट हरेक घरधुरीले इक्यूटी सेयर ५ प्रतिशत र डाइरेक्ट सेयरमार्फत २० लाखसम्म २ देखि ३ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने आग्रह सरकारलाई गर्दै आएका छन्।

त्यसै पनि ऊर्जा, पर्यटन, कृषि, जडीबुटीमा प्रचुर सम्भावना छ, संखुवासभामा। तिनै स्रोत साधन उपयोग गरेर उनी जिल्लालाई समृद्ध बनाउने यात्रामा छन्।

किमाथांकासम्म कोशी राजमार्ग र कोशी कोरिडोर सडक पुर्‍याउने तथा त्यसबाट भारत र चीनसँग बाह्रैमास व्यापार चलाउने उनको योजना छ। त्यसपछि मात्र संखुवासभामा भारत र चीनबाट तीनदेखि चार लाख पर्यटक भित्र्याउन सकिने उनले राम्ररी बुझेका छन्। जिल्लाका युवालाई उनी आफ्नै उद्यम र व्यवसायका लागि प्रेरित गरिरहन्छन्। त्यसका लागि मिहिनेत, इमानदारिता, लगाव र लगनशीलता आवश्यक पर्ने उनको ठम्याइ छ।


क्याटेगोरी : निर्वाचन बिशेष, समाचार
ट्याग : #hot, #उमेदबार, #दिपक खड्का, #नेपाली कांग्रेस, #प्रतिनिधिसभा, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
5:20 am6:59 pm +0545