सप्तकोसीको पश्चिमी तटबन्ध भत्किने जोखिम
पहाडी क्षेत्रमा भइरहेको अविरल वर्षाले उर्लिएको सप्तकोसीको भेल सुनसरी र सप्तरी आइपुग्दा पश्चिमी तटबन्धतर्फ सोझिएको छ । उर्लंदो भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेपछि सप्तरीका बस्तीहरूमा त्रास छ ।
बाँध मर्मतसम्भारको जिम्मा भारतीय कोसी योजनाअन्तर्गत छ । योजनाले बाँधको उचित मर्मतसम्भारमा ध्यान नदिएकाले कमजोर तटबन्ध भत्काएर कोसीको भेल पश्चिम पस्ने जोखिम बढेको कोसीपीडित समाज सप्तरीका अध्यक्ष देवनारायण यादवले बताए । ‘हामीले पटक–पटक भन्दै आएका छौं कि कोसीमा बालुवाको तटबन्ध निर्माण गरेर बचाउ गर्न सकिँदैन,’ उनले भने, ‘कोसी योजनाले तटबन्ध निर्माणमा लापरबाही गर्दा जोखिम बढ्यो । कोसीकै बालुवा खनेर पश्चिम तटबन्ध बनायो, अहिले त्यही कारणले डलुवाको १३ ठाउँमा सिपेज भएर कोसी फुट्ने खतरा बढेको हो ।’
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलुवामा नदीको भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेको उनले बताए । नेपाल हुँदै भारततर्फ बग्दै आएको सप्तकोसी नदीअन्तर्गत तटबन्धसहित सबै सुरक्षा तथा बचाउको काम कोसी सम्झौताअनुसार भारतको हो । नेपालले भारतीय प्राविधिक र बचाउ कामको सुरक्षा गर्ने सम्झौतामा उल्लेख छ । सन् १९६३ को अगस्टमा सप्तकोसीको बाँध डलुवामा फुटेपछि त्यहाँ नेपाल सरकारको अगुवाइमा भारतले करिब ५ किलोमिटर दूरी भएको अर्को तटबन्ध निर्माण गरेको थियो ।
अहिले फेरि कोसीका भारतीय अधिकारीको उदासीनताले उक्त रिङ बाँधलाई राम्ररी मर्मतसम्भार नगरेका कारण ५७ वर्षपछि पुनः सोही स्थानमा तटबन्ध भत्किने जोखिम बढेको छ । डलुवामा तटबन्ध भत्किए हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र राजविराज नगरपालिकाका झन्डै २५ हजार परिवारको उठिबास हुने जोखिम छ ।
यसअघि पछिल्लो सात वर्षदेखिको प्रयासमा गत वर्ष भारतले कोसीमा निर्माण गरेको पाइलट च्यानलले बहावको धार परिवर्तन भई पश्चिमी तटबन्धमा दबाब बढेको हो । बाढीको दबाबले शनिबार डलुवा क्षेत्रमा बाँधबाट सिपेज (रसाएको) भएको पानीले तीन वटा स्थानीय तहका ३ सय ६२ वटा घर जलमग्न भएका छन् ।
कोसीकै बाढीले तटीय क्षेत्रका हनुमाननगर कंकालिनी नगरपालिका २ सय ५० र तिलाठी कोइलाडी गाउँपालिकाका १ सय १२ घर जलमग्न भएका हुन् । ‘कोसी योजनाका प्राविधिकहरूको लापरबाहीले हाम्रो नगरपालिकालाई जोखिम भयो । सिपेजले जलमग्न बनाइसक्यो, बाँधै फुट्दा के झन् होला,’ हनुमाननगर कंकालिनी नगरप्रमुख शैलेश साहले भने, ‘बाँध सिपेज भइरहेको ठाउँमा तत्कालै मर्मतसम्भार गरेन भने सप्तरीका एक लाखभन्दा बढी जनसंख्या प्रभावित हुने निश्चित छ ।’
गोबरगाढा बस्ती दुई दिनदेखि जलमग्न छ । ‘अहिले वडाका बस्तीमा झन्डै दुई फिट पानी जमेको छ,’ शनिबार साँझ गोबरगाढाका वडाध्यक्ष विन्देश्वरी यादवले भने, ‘राति पानी बढ्यो भने हुने क्षति आकलनसमेत गर्न सक्दैनौं ।’ गोबरगाढामा ८० परिवारका २ सय जना फसेका छन् । मेयर साहले उनीहरूलाई उद्धार गर्ने तयारी गरिएको बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्