Techie IT
सोमबार, साउन २५,२०८३

महोत्तरीस्थित टुटेश्वरनाथको पर्यटन विकासमा गौतमको जोड, सभामुख यादवद्वारा मन्दिर अवलोकन


मधेस प्रदेश – मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवले महोत्तरीका प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकनसँगै पूजा-अर्चना गर्नुभएको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमको नेतृत्वमा रहेको टोलीसहित सभामुख यादवले बर्दिबास नगरपालिका–५ स्थित प्रसिद्ध धार्मिकस्थल श्री टुटेश्वरनाथ मन्दिर र वडा नं. ४ स्थित श्री पञ्चधुरामाई मन्दिरको दर्शन तथा पूजा-अर्चना गर्नुभएको हो ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीको विशेष निमन्त्रणामा परिवारसहित बर्दिबास पुग्नुभएका सभामुख यादवले टुटेश्वरनाथ मन्दिरमा बाबा भोलेनाथ तथा पञ्चधुरामाई मन्दिरमा माता पञ्चधुराको विधिपूर्वक पूजा-अर्चना गर्नुभयो ।

पूजापश्चात् मन्दिर परिसरको अवलोकन गर्दै सभामुख यादवले धार्मिक तथा पुरातात्त्विक महत्त्व बोकेका मन्दिरहरूको मौलिकता जोगाउँदै पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वदेशी सीप, श्रम तथा स्थानीय कच्चा पदार्थको अधिकतम् प्रयोग गरी कङ्क्रिटरहित तथा पुरातात्त्विक महत्त्व झल्किने किसिमका संरचना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले प्रकृतिको काखमा रहेको तथा सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र टुटेश्वरनाथ मन्दिरलाई पर्यटनको माध्यमबाट मधेस प्रदेशको विकास र समृद्धिसँग जोड्न तीनै तहका सरकारलाई आग्रह गर्नुभयो ।

नेपालको ‘बाबाधाम’का रूपमा समेत परिचित टुटेश्वरनाथ मन्दिरमा दर्शन गर्न स्वदेश तथा विदेशबाट आउने भक्तजनलाई आवश्यक सेवा–सुविधा उपलब्ध गराउँदै धार्मिक पर्यटनको प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रगतिशील लेखक सङ्घ, नेपाल, मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरेले मुलुकको आर्थिक मेरुदण्डका रूपमा रहेको पर्यटन उद्योगलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले समाजमा विद्यमान धार्मिक तथा सामाजिक आस्थालाई समाज रूपान्तरणसँग जोड्दै पर्यटन विकास अघि बढाउनुपर्ने बताउनुभयो ।

पर्यटकमैत्री सहर निर्माणसँगै त्यसअनुकूलका नीति, नियम तथा कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको घिमिरेको भनाइ थियो ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीका सचिव पर्मेश्वर महतोले नागरिक समाज, मन्दिर व्यवस्थापन समिति र सरकारबीच सहकार्य भए धार्मिक पर्यटनको विकासमार्फत मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

“पर्यटन कुराले भन्दा कामले अगाडि बढ्छ । त्यसका लागि हामी आफ्नो जिम्मेवारी पूरा गर्न लाग्छौँ । यहाँहरूले पनि आफ्नो जिम्मेवारी पूरा गर्न लाग्नुहोस्, हामी सबै आ–आफ्नो जिम्मेवारीमा लागौँ,” उहाँले भन्नुभयो ।

अवलोकन तथा पूजा-अर्चना टोलीमा महासङ्घ, मधेस प्रदेशका कोषाध्यक्ष दानबहादुर थापा (विष्णु), नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजकरण महतो, होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीका प्रथम उपाध्यक्ष अमित बस्नेत, महासचिव नारायण घिमिरे, सदस्य हेम लामा सहित स्थानीय सञ्चारकर्मी तथा विभिन्न फोटोग्राफी सेन्टरका फोटोग्राफरहरूको समेत उपस्थिति रहेको थियो ।


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #bardibas mahottari, #sajhapana, #Tuteshwor nath


तपाईको कमेन्ट लेख्नुहोस्