Techie IT
बिहीबार, मंसीर ४,२०८३

स्वतन्त्र वडाध्यक्ष उम्मेदवार इन्जिनियर रमेश केसी युवाबीच लोकप्रिय बन्दै


स्वतन्त्र वडाध्यक्षको उम्मेदवारका रुपमा युवा इन्जिनियर रमेश केसीले आफ्नो नाम दर्ता गराए पछि फुटुङ्गमा चुनावी गर्मी बढेको छ । उनको उम्मेदवारी आएपछि चिया पसल, चोक र टोलमा केसीको चर्चा हुन थालेको हो ।

चौतिस वर्षे पेशागत युवा केसीको उम्मेदवारीले युवाहरुलाई हौस्याएको मात्र छैन, उनलाई जित दिलाउन लागी पर्ने समेत बताएका छन् । राजनीतिमा पेशागत शिक्षित युवा प्रवेश गरी वडाको विकासमा योगदान गर्ने मनसुवा राख्नुलाई वडावासीले पनि अर्थपूर्ण रुपमा हेरेका छन् ।

इन्जिनियर केसीको उम्मेदवारीले अब फुटुङ्गमा केही हुने भयो भनेर आशा गर्ने युवाको जमात बढेको छ । स्थानीय युवा सुशिल थापाले भने, ‘रमेशको उम्मेदवारीले परम्परागत दलगत राजनीतिलाई चुनौति दिएको छ, ढिलै भए पनि शिक्षित युवाले चुनाबमा चासो दिएर वडामा केही गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।’ उनले थपे, ‘स्थानीय चुनावमा दलभन्दा पनि सवल र सक्षम व्यक्ति हेर्नु पर्छ, केसी सक्षम व्यक्ति हुन् ।’

यो पटक युवालाई वडाको प्रमुख बनाउनु पर्छ भनेर जुटेका अर्का स्थानीय युवा जोन श्रेष्ठले युवाको मन युवाले नै जित्न सक्ने भएकाले रमेशले यसपटक दलका उम्मेदवारलाई पछाडि पार्ने आशा गरेका छन् । कम बोल्ने, अध्ययनशील एवम् भलादमी युवाको पहिचान बनाएका इन्जिनियर केसीलाई नै सवै बडाबासीले विश्वास गर्नुपर्ने समय आएको युवा गोकुल केसीले सुनाए ।

आफ्नो उम्मेदवारी पछि धेरैले फोन गरेर सहयोग गर्ने वचन दिनु भएकोले हौसला बढ्दै गएको रमेशले बताए ।

भौतिक विकास र निर्माणमा अब्बल बनाउने प्रण

रमेशले आफ्नो उम्मेदवारी भौतिक विकास तथा निर्माणमा अब्बल बनाउने प्रणका साथ दिएको बताए । ‘म छिट्टै मेरो प्रतिवद्धता र आगामी पाँच वर्षमा गर्न सकिने कार्यक्रम सार्वजनिक गर्नेछु, युवाहरु त्यसको तयारीमा जुटिरहेका छन्,’ उनले भने ।
‘म प्राविधिक हुँ, शहर बन्ने क्रममा सवैभन्दा बढी भूमिका र दायित्व इन्जिनियरकै हुन्छ, त्यसैले आधुनिक फुटुङ्ग बनाउने मेरो सोचले यो उम्मेदवारी आएको हो, र मलाई फुटुङ्गबासी सबैले माया गरेर मतदान गर्नु हुनेछ,’ रमेशले भने ।

रमेश थापागाउँ निवासी हुन् र नयाँ बस्ती माझ पनि आफ्नो पेशागत सम्बन्ध बलियो भएकोले यो पटक आफूलाई नै मतदाताले विश्वास गर्ने उनको दावी छ । पटक पटक दललाई, यो पटक स्वतन्त्रलाई भन्ने नारा तय गरेका उनका सहयोगीहरु यो चुनाबमा रमेशलाई जिताएर पmुटुङ्गबासीले सचेत मतदाताको पहिचान बनाउने विश्वास गरेका छन् । ‘दलहरुको क्रियाकलापले आजित फुटुङ्गवासीले यो पटक स्वतन्त्रलाई अवसर दिन्छन्,’ ढुक्क हुँदै केसीले भने ।

अरु को को छन् उम्मेदवार ?
तारकेश्वर वडा नं ७ नेपाली काँगेसका सानुकाजी केसी, नेकपा एमालेबाट मिठाराम खत्री, माओवादी र समाजवादीका जगनाथ राजवाहक, राप्रपाबाट नवराज केसीको वडाध्यक्षका उम्मेदवार छन् । वडामा २,९८७ मतदाता छन् ।


क्याटेगोरी : स्थानीय
ट्याग : #स्वतन्त्र वडाध्यक्ष उम्मेदवार इन्जिनियर रमेश केसी


तपाईको कमेन्ट लेख्नुहोस्