नेताका आफन्तलाई उम्मेदवार बनाएर चुनाव जिताउन मात्रै गठबन्धन गरेको रहस्य खुल्यो
काठमाडौं । सत्तारुढ गठबन्धनले यही बैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा छोरी, श्रीमती र छोरासहितका आफन्तलाई चुनाव जिताउनका लागि मात्रै गठबन्धन गरेको रहस्य खुलेको छ । ६ महानगरपालिकाको उम्मेदवारमा गठबन्धन गरेका सत्ता साझेदार दलरुहरुले तीन महानगरका तीन पदमा नेताका परिवारभित्रैबाट उम्मेदवार चयन गरेर यो भित्री तथ्यलाई उजागर गरेका हुन् ।
६ महानगरमा प्रमुख र उपप्रमुख गरी १२ वटा पदको भागवण्डा गरेका सत्ता साझेदार दलका तर्फबाट सोमबार उम्मेदवारी दर्ता गरेकामध्ये काठमाडौं र भरतपुर महानगरपालिकाका मेयर र विराटनगर महानगरपालिकाका उपमेयर गठबन्धनमा आबद्ध शीर्ष नेताहरुका पारिवारिक सदस्य हुन् ।
सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवारी दिनुभएकी कांग्रेस नेता सिर्जना सिंह राजनीतिमा त्यति सक्रिय नाम होइन । २०४६ यता सक्रिय राजनीतिमा नरहेकी सिंहले काठमाडौं जस्तो महत्वपूर्ण महानगरको मेयर पाउनुमा उनको श्रीमान समेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहको भूमिका रहेको छ ।
कांग्रेस नेताहरुका अनुसार पार्टीको १४औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका सिंह पराजित भएपछि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए । स्थानीय तह निर्वाचनका बेला देउवाले पार्टी महाधिवेशनमा सिंहले गरेको सहयोगको गुन तिर्दै पत्नी सिर्जनालाई मेयरको उम्मेदवार बनाएका हुन् ।
काठमाडौंमा नेताकी पत्नी उम्मेदवार बनेको गठबन्धनबाट चितवनमा छोरी उम्मेदवार बनेकी छन् । कांग्रेसका जिल्लास्तरीय नेताहरुको विरोधका बाबजुद गठबन्धनका शीर्ष नेताको सहमतिबाट भरतपुर महानगरपलिकाको मेयरको उम्मेदवार रेनु दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् । प्रचण्डकै छोरी भएको कारण भरतपुरमा पुनः माओवादीलाई प्रमुख पद दिइएको हो ।
स्थानीय तहका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिँदा दुई मध्ये एक महिला हुनैपर्ने संवैधानिक मान्यतालाई समेत बेवास्ता गर्दै गठबन्धनका तर्फबाट विराटनगरमा दुबै पदमा पुरुष उम्मेदवार भएका छन् । तीमध्ये उपमेयरमा उम्मेदवारी दिएका अमरेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् । यादवले लामो समयदेखि उपेन्द्र यादवकै सचिवालयमा बसेर काम गर्दै आएका छन् ।
उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्रलाई उम्मेदवार बनाउनकै लागि विराटनगर आफैंले पाउनुपर्ने अडान गठबन्धनमा छोडेका थिएनन् । भागवण्डामा विराटनगरको उपमेयर गठबन्धनका तर्फबाट जसपाको भागमा परेपछि अमरेन्द्रले नै पाउने निश्चितजस्तै भएको थियो ।
यही बुझेर यसअघि २०७४ को चुनावमा जसपाका तर्फबाट मेयरमा प्रतिस्पर्धा गरेका र तेस्रो लोकप्रिय मत ल्याएका उमेश यादवले तीन दिनअघि मात्रै पार्टी छोडेका थिए । यादवले ०७४ को स्थानीय चुनावमा १४ हजार ९५८ मत ल्याएका थिए । उनले आइतबार नै स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका छन् ।
यस्तै गृहमन्त्री बालकृष्ण खाँणले पनि भाइलाई उम्मेदवार बनाएका छन् । गृहमन्त्री खाँणले पनि गठबन्धनको फाइदा लिँदै सहोदर भाइ रामकृष्ण खाणलाई तिलोत्तमा नगरपालिकाको मेयर उम्मेदवार बनाएका हुन् । यसअघि राष्ट्रिय जनमुक्ति पार्टीको सहयोग लिएर पनि मेयरमा हारेका खाँणलाई यसपटक माओवादी, नेकपा एससहितको गठबन्धनबाट जिताउन खाँणले मौका दिएका छन् ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्