बेल्जियम छाडेर आएका व्यक्ति कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार
बागलुङ । १८ वर्ष लामो बेल्जियमको बसाइलाई बिट मारेर गाउँ फर्किएका राजु थापाले नेपाली कांग्रेसबाट काठेखोला गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
विसं २०५४ को स्थानीय चुनावमा काठेखोला–४ तङ्ग्राम (तत्कालीन गाविस) को अध्यक्ष बनेका उनलाई यसपालिको चुनावमा सत्ता साझेदार दलहरुले साझा उम्मेदवारका रूपमा अघि बढाएका हुन् ।
थापा चार महिनाअघि मात्रै नेपाल फर्किएका थिए । कांग्रेसबाट होमबहादुर हमाललगायतका नेता अध्यक्षको आकाङ्क्षी रहे पनि अन्तिममा थापाले टिकट पाएका हुन् । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका उनी बेल्जियमा रहँदा नेपाली जनसम्पर्क समितिमा क्रियाशील थिए ।
‘बेल्जियमा रहँदा पनि लगातार पार्टी समितिमा बसेर काम गरेँ, अहिले नयाँ जिम्मेवारीका लागि पार्टीले अगाडि बढाएको छ, परिणाम दिने गरी चुनावमा होमिएको छु’, थापाले भने । पहिले गाविस अध्यक्ष हुँदा होस् या प्रवासमा रहेका बेला पनि गाउँको विकास र जनताको सेवामा थापाको महत्वपूर्ण योगदान रहेकाले चुनावमा लोकप्रिय मत लिएर जित्ने नेपाली कांग्रेस, क्षेत्रीय समितिका सदस्य खड्क थापा मगरले दाबी गरे ।
ं‘एउटा जित्ने आधार कांग्रेसको आफ्नै सङ्गठन हो, त्यहीँमाथि अध्यक्षका उम्मेदवारको आफ्नै व्यक्तित्व छ, पहिले गाविस अध्यक्ष हुँदा पनि उहाँले जनताको मन जित्ने गरी काम गर्नुभएको थियो’, थापा मगरले भने, ‘सबै विदेश जान लालायित भइरहेका बेला उहाँ बेल्जियको पिआर त्यागी देशको सेवा गर्छु भनेर आउनुभएको छ ।’
५० वर्षीय थापा २६ वर्षको उमेर छँदा विसं २०५४ मा तत्कालीन तङ्ग्राम गाविस अध्यक्षमा निर्वाचित भएका थिए । कम उमेरमा जनप्रतिनिधि हुनेमा उनको पनि नाम लिइन्छ ।
अध्यक्षमा थापाको प्रतिस्पर्धा नेकपा (एमाले) का डिलबहादुर कार्कीसँग हुने भएको छ । विसं २०७४ को चुनावमा काठेखोला एमालेले जितेको थियो । नेपाली कांग्रेसका होमबहादुर हमाललाई पराजित गर्दै एमालेका अम्मरबहादुर थापा अध्यक्ष बनेका थिए ।
काठेखोलाको अध्यक्षमा नेपाल दलित पार्टीबाट गङ्गाबहादुर विकले पनि उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा भने चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाले लक्ष्मण पुनलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ भने एमालेले कोपिला पुनलाई अघि सारेको छ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्