श्रम र रोजगार क्षेत्रमा देखिएका समस्याको उपायसहित प्रतिवेदन पेश गर्न गोकर्ण विष्टको निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्यक्षेत्रमा देखिएका समस्या र समाधानको उपायसहित सात दिनभित्र प्रतिवेदन पेश गर्न मातहतका निकाय र प्रमुखलाई निर्देशन दिनुभएको छ ।
आव २०७४÷७५ को मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक समीक्षा कार्यक्रममा उहाँले भन्नुभयो, “कार्यसम्पादनका क्रममा हामी अझै पनि परम्परागत साङ्लोभित्र रमाइरहेका छौँ, परम्परा तोड्न चाहिरहेका छैनौँ, सकारात्मक परिवर्तनका लागि परम्परागत सोच र मानसिकता त्याग्न आवश्यक छ ।”
मन्त्री विष्टले चालु आवमा मन्त्रालयले शत्प्रतिशत परिणाम हासिल गर्नुपर्नेमा जोड दिँदै रचनात्मक, मौलिक, परिणाममुखी काम सम्पन्न गर्नेतर्फ पनि कर्मचारीले ध्यान दिनुपर्ने बताउनुभयो ।
सरकारले अङ्गीकार गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न सबैपक्ष गम्भीर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बैठकले १५÷१५ दिनमा मन्त्रालय मातहतका निकायले गरेका काम कारवाहीको समीक्षा गर्ने निर्णयसमेत गरेको छ । बैठकले महाशाखा, विभाग, बोर्ड, समिति र आयोजनालाई नियमित प्रगति विवरणसमेत पेश गर्नसमेत निर्देशन दिएको छ ।
मन्त्रालयले गत आवमा ८१ दशमलव ३१ प्रतिशत भौतिक र ८० दशमलव ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो । मन्त्रालयअन्तर्गत सञ्चालित सात आयोजनाको समष्टिगत प्रगति ८० देखि १०० प्रतिशत र पाँच आयोजनाको प्रगति ५० देखि ७० प्रतिशत छ ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले विभिन्न देशहरुसँग कूटनीतिक सम्झौता तथा प्रवद्र्धनका कार्य भइरहेको, दक्षिण कोरियासँग गर्न लागिएको श्रम सम्झौताको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत भई सहमतिका निम्ति दक्षिण कोरियामा पठाइएको जानकारी दिनुभयो ।
मन्त्रालयले श्रम नियमावली २०७५, बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५ र श्रमिक हकको न्यूनतम पारिश्रमिक निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को नियमावली मस्यौदा तयार गरिएको, सामाजिक सुरक्षा करकट्टी गर्नेको विवरण सङ्कलन गर्ने कार्य शुरु गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेका ठगी एवं शोषण नियन्त्रण गर्ने उद्देश्यले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका, २०७५ कार्यान्वयनमा ल्याएको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै मेनपावर कम्पनीले नक्कली मागपत्र बनाई ठगी गर्ने क्रम रोकिएको छ ।
यसैगरी विप्रेषण (रेमिट्यान्स) लाई उत्पादनशील क्षेत्रमा लगानी गर्न श्रम मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरी अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #रोजगार तथा सामाजिक सुरक्षा, #श्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्