Techie IT
आईतबार, वैशाख १३,२०८३

बर्दिबासमा पर्यटन व्यवसायी महासंघद्वारा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न


जीवनराज दाहाल  – बर्दिबास बैशाख १३,
महोत्तरीको बर्दिबास–३ स्थित नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेश प्रदेशको कार्यालयमा २०८३ बैशाख १२ गते आयोजित बधाई तथा शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम मधेश प्रदेश अध्यक्ष हिरा गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा महोत्तरी क्षेत्रबाट नव–निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय प्रमोद कुमार महतो, नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) मधेश प्रदेशका नवनियुक्त अध्यक्ष विजय कुमार साह तथा उद्योग वाणिज्य संघ बर्दिबासका नवनियुक्त अध्यक्ष दिपक बहादुर कार्कीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

उक्त कार्यक्रममा महासंघका वरिष्ठ संरक्षक सल्लाहकार विजय झुनझुनवाला, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साह, मटिहानी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र चौधरी, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्की, प्रगतिशील लेखक संघ मधेश प्रदेशका अध्यक्ष नारायण घिमिरेलगायत विभिन्न जिल्लाबाट सहभागी उद्योगी, व्यवसायी, होटल व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । साथै महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन महासंघका महासचिव बैकुण्ठ सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा वक्ताहरूले मधेश प्रदेशको पर्यटन क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

यस अवसरमा महासंघले विगतदेखि पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाको समीक्षा गर्दै आगामी दिनमा प्रभावकारी समन्वय, सहकार्य र रणनीतिक योजनाको आवश्यकता औंल्याएको छ । पर्यटन पूर्वाधार विकास, सेवा गुणस्तर अभिवृद्धि तथा आन्तरिक र बाह्य पर्यटक आकर्षणका लागि नवीन अवधारणा र दीगो पर्यटन विकासका विषयमा गहन छलफल गरिएको जनाइएको छ ।

त्यसैगरी, महासंघको “घुमौँ मधेश, बुझौँ मधेश” अभियानअन्तर्गत ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवर्द्धन तथा प्रचार-प्रसारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सोही अभियानअन्तर्गत निर्माण गरिएको वृत्तचित्र (डक्सुमेन्ट्री) बारे पनि विस्तृत छलफल गरिएको कार्यक्रममा जानकारी दिइएको छ ।

कार्यक्रमले मधेश प्रदेशको पर्यटन विकासमा निजी क्षेत्र, सरकारी निकाय तथा सरोकारवालाबीच सहकार्यलाई अझ सुदृढ बनाउँदै समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।


क्याटेगोरी : banner, bannernews, पर्यटन, ब्रेकिंग न्युज, समाचार, समाज
ट्याग : #bardibas mahottari


तपाईको कमेन्ट लेख्नुहोस्