Techie IT
शुक्रबार, भदौ १९,२०८३

संखुवासभामा भरुवा बन्दुक प्रहारबाट शिक्षकको मृत्यु


खाँदबारी, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुक प्रहारबाट एक शिक्षकको हत्या भएको छ ।

कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको बिहीबार राति करिब ७ बजे गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।

advertisement

कालिका माध्यमिक विद्यालयमा बस्दै आएका शिक्षक राई खाना खाएर हात धुन बाहिर निस्किएका बेला विद्यालय नजिकैबाट भरुवा बन्दुक प्रहार भएको प्रहरीले जनाएको छ । गोली लागेर देब्रे कोखामा चोट लागेका राई घटनास्थलमै ढलेका थिए ।

घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब छ घण्टाको पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न व्यक्ति र गोली प्रहार गर्नुको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #भरुवा बन्दुक प्रहारबाट शिक्षकको मृत्यु, #मकालु गाउँपालिका, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्