Techie IT
बिहीबार, भदौ ११,२०८३

भोटेकोशी बाढीपीडितका लागि गौतम होटल परिवारद्वारा १ लाख ५१ हजार सहयोग


जीवनराज (बर्दिबास) भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि महोत्तरीको बर्दिबासस्थित गौतम होटल र धनुषा लालघटस्थित गौतम होटल परिवारले संयुक्त रूपमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

बाढीका कारण कैयौँ परिवार शोक, पीडा र अनिश्चितताको अवस्थामा पुगेको भन्दै गौतम होटल परिवारले विपदमा परेका नागरिक तथा पर्यटकहरूको खोज, उद्धार र राहतमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो ।

गौतम होटलको तर्फबाट १ लाख रुपैयाँ र होटल परिवारका कर्मचारीहरूको तर्फबाट ५१ हजार रुपैयाँ गरी जम्मा १ लाख ५१ हजार रुपैयाँ सहयोग गरिएको जनाइएको छ ।

गौतम होटल परिवारले बाढीमा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, सम्पर्कविहीन नागरिक तथा पर्यटकहरूको शीघ्र खोज तथा उद्धार हुनुपर्ने र प्रभावित सबैले आवश्यक राहत पाउनुपर्नेमा जोड दिएको छ ।

विपद्को समयमा आफ्नो सामर्थ्यअनुसार गरिएको सानो सहयोगले पनि पीडित परिवारलाई राहत र निराश मनमा आशा जगाउन सक्ने भन्दै गौतम होटल परिवारले अन्य व्यक्ति तथा संस्थालाई समेत सहयोगका लागि अघि आउन आग्रह गरेको छ ।

गौतम होटल परिवारले आफ्नो सहयोगलाई विपदमा परेकाहरूसँग मानवताको हातेमालो गर्ने सानो प्रयासका रूपमा लिँदै दुःखमा परेका परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #gautam hotel


तपाईको कमेन्ट लेख्नुहोस्