Techie IT
आईतबार, जेठ ३,२०८३

अविरल वर्षाले खाँदबारी कारागार जोखिममा


संखुवासभा : शुक्रबारदेखि आइतबारसम्मको अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुर्‍याएको छ। पहिरोले सदरमुकाम खाँदबारीस्थित जिल्ला कारागारको भवन उच्च जोखिममा परेको छ।

शनिबार दिउँसोको वर्षापछि कारागार परिसरको झण्डै ३० मिटर लामो बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले जानकारी दिनुभयो। उँहाका अनुसार तल्लो भागमा आएको पहिराले पर्खाल भत्काएपछि तलतिरबाट माटो खसिरहेको छ, जसले कारागार क्षेत्रमा थप जोखिम बढेको छ। आइतबारदेखि रोकथाम र मर्मतको काम सुरु गरिए पनि निरन्तर वर्षाले काम गर्न समस्या भएको घिमिरेले बताउनुभयो।

जिल्ला कारागारको पछाडीको पहिरो

यस्तै, पहिराले सदरमुकाम खाँदबारीमै रहेको नेपाली सेनाको इन्द्रदल गुल्मको परिसर पनि प्रभावित भएको छ।
त्यसैगरी, चैनपुर नगरपालिका–६ स्थित १५ शय्याको नगर अस्पतालको पर्खाल भत्किएर अस्पताल भवन समेत जोखिममा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो।

चैनपुर–३ सिद्धपोखरीमा ढुङ्गामाटोले बनेको तेञ्जि शेर्पाको घर पनि पहिरोको उच्च जोखिममा परेको छ। आइतबार दिउँसोको वर्षाले घर नजिक माटो खस्न थालेपछि शेर्पा परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
––––


क्याटेगोरी : समाचार
ट्याग : #hot, #खादबारी, #जिल्ला कारागार संखुवासभा, #पहिरो जोखिम


तपाईको कमेन्ट लेख्नुहोस्