एम्बुलेन्सबाट निकालेर घाइते मारेको अभियोगमा एमाले पूर्वसांसद कोइरीलाई ५ वर्ष कैद
काठमाडौं, १८ असार — उच्च अदालत जनकपुरले मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको छ।
कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत महोत्तरीको फैसला उल्ट्याउँदै कोइरीलाई दोषी ठहर गरेको हो। यसअघि जिल्ला अदालतले २८ मंसिर २०८० मा उनीसहित केही आरोपितलाई सफाइ दिएको थियो।
घटना कसरी भएको थियो?
२५ भदौ २०७२ मा मधेश आन्दोलनका क्रममा महोत्तरीमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। झडपमा सशस्त्र प्रहरीका असई थमन विकसहित केही सुरक्षाकर्मी गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि जलेश्वर अस्पताल लगिए पनि थप उपचार आवश्यक भएपछि एम्बुलेन्समार्फत जनकपुर पठाइएको थियो।
जलेश्वरबाट जनकपुरतर्फ जाँदै गर्दा महोत्तरीको सनोखडास्थित कच्ची सडकमा एम्बुलेन्स रोकिएको थियो। त्यसक्रममा मोटरसाइकलमा आएका आन्दोलनकारीहरूले एम्बुलेन्सलाई पछ्याएका थिए। एम्बुलेन्स अघि बढ्न नसकेपछि घाइते सुरक्षाकर्मीहरू नजिकैको खेतमा लुकेका थिए। अभियोजनअनुसार आन्दोलनकारीहरूले उनीहरूलाई खोजेर बाहिर निकाले र सांघातिक आक्रमण गरे, जसमा थमन विकको मृत्यु भएको थियो।
अनुसन्धानका क्रममा पक्राउ परेका केही अभियुक्तहरूले आक्रमणमा लक्ष्मी महतो कोइरी पनि संलग्न रहेको बयान दिएका थिए। मुद्दा दर्तापछि उनी फरार भएका थिए। फरार अवस्थामै उनी एमालेमा प्रवेश गरेका थिए र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित भएका थिए।
फरार अवस्थामै उनी पटकपटक प्रतिनिधिसभाको बैठकमा सहभागी भएको विषयले व्यापक विवाद उत्पन्न गरेको थियो। जिल्ला अदालतबाट सफाइ पाएपछि उनी संसदमा खुला रूपमा उपस्थित हुन थालेका थिए।
मुद्दाको सुनुवाइका क्रममा केही प्रत्यक्षदर्शीले कोइरी घटनास्थलमा रहेको बताएका थिए। तर उनका पक्षका साक्षीहरूले घटनाको दिन उनी बिरामी भएर घरमै रहेको दाबी गरेका थिए। जिल्ला अदालतले ती साक्षीहरूको बयानलाई आधार मानेर सफाइ दिएको थियो। उच्च अदालतले भने अन्य अभियुक्तहरूको बयान र उपलब्ध प्रमाणको समग्र मूल्याङ्कन गर्दै उक्त फैसला उल्ट्याएको हो।
उच्च अदालतले प्रदीप साह माझी, सञ्जय कुमार साह र मोहन ठाकुरलाई जिल्ला अदालतले सुनाएको जन्मकैदको सजायलाई यथावत् राखेको छ।
यस्तै, अभिराम शर्मा, धमेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेमाथि भएको जन्मकैदको फैसला संशोधन गर्दै प्रत्येकलाई पाँच वर्ष कैद सजाय तोकिएको छ।
लक्ष्मी महतो कोइरी र पवन कापरलाई सफाइ दिने जिल्ला अदालतको फैसला पनि उल्ट्याउँदै उच्च अदालतले दुवैलाई पाँच–पाँच वर्ष कैद सजाय सुनाएको छ।
उल्लेखनीय रूपमा, एमालेले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा पनि महोत्तरी–१ बाट लक्ष्मी महतो कोइरीलाई उम्मेदवार बनाएको थियो। उनी उक्त निर्वाचनमा तेस्रो स्थानमा सीमित भएका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एम्बुलेन्सबाट निकालेर घाइते मारेको अभियोगमा एमाले पूर्वसांसद कोइरीलाई ५ वर्ष कैद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्