नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक हो : नन्दबहादुर पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको छ ।
अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति यहाँ आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन गर्दै उहाँले संस्कृति र प्रकृतिको धनी नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको हो ।
बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, रीतिरिवाज भएको नेपालले संस्कृति र प्रकृतिबाट पर्यटकलाई आकर्षित गरिरहेको उहाँको भनाइ छ ।
उपराष्ट्रपति पुनले कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा एक सय ६० अर्ब क्षति पुगेको बताउनुभयो । कोरोना महामारीबाट थला परेको नेपालको पर्यटन उद्योगमा पछिल्लो समय केही सुधारको सङ्केत देखिएको उहाँको भनाइ थियो ।
उहाँले नयाँ सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना अगाडि सार्नुपर्ने बताउनुभयो । नेपालको पर्यटन क्षेत्रको विकासमा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नेपालको पर्यटन क्षेत्रको राजधानी ठमेल भएकाले ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की, नेकपा (एमाले)का केन्द्रीय सदस्य भीम केसीले नेपालको आर्थिक विकासको मुख्य आधार जलविद्युत्, कृषि र पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासका लागि नयाँ सरकारले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकारका मुख्यसचिव शङ्करदास बैरागीले नेपाललाई विश्वमाझ चिनाउनका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको पर्यटन प्रवद्र्धनका लागि सरकारले पर्यटन दशक मनाउन लागेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले काठमाडौँको पर्यटन क्षेत्रको विकासका लागि महानगरपालिकाले अक्षयकोष स्थापना गरेर काम गर्दै आइरहेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले मुलुकले सोचेजस्तो पर्यटक भित्र्याउन नसकेको भन्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेललाई पर्यटनको विशेष क्षेत्रका रूपमा अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभयो ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले १० हजार व्यवसायी र ६० हजारले प्रत्यक्ष तथा अप्रत्ययरूपमा रोजगार पाएको ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि बढाउनुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #नन्दबहादुर पुन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्