पानीमा भलिबल प्रतियोगिता !
बागलुङ । बाहिरतिर सामुद्रिक किनार या पौडीपोखरीमा भलिबल खेलेको देखेसुनेकै हो । हाम्रोमा भने नौलो हुन सक्छ, पानीमा खेलिने भलिबल । राष्ट्रिय खेल भलिबलका लागि उर्वर थलो गलकोटमा मङ्गलबारदेखि पानीमा खेल्ने भलिबल प्रतियोगिता (वाटर भलिबल गेम) हुँदैछ ।
गलकोट नगरपालिका–३ चिसापानीस्थित दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टले प्रतियोगिता आयोजना गरेको हो । रिसोर्टमा रहेको पौडीपोखरीमा खेल सञ्चालन हुने रिसोर्टका सञ्चालक हुम थापाले जानकारी दिए । पाँच दिनसम्म चल्ने प्रतियोगितामा वडास्तरीय टोली सहभागी हुनेछन् ।
‘१५ देखि २० टिमले स्पर्धामा भाग लिने अनुमान छ, गुल्मीसम्मका खेलाडी टिम सम्पर्कमा आएका छन्’, सञ्चालक थापाले भने, ‘खेलको प्रवद्र्धनसँगै गलकोटलाई नयाँ ढङ्गबाट चिनाउन पानीमा भलिबल प्रतियोगिता राखिएको हो ।’
गलकोट भलिबल टोलीका प्रशिक्षक सुरेन्द्र केसीले सम्भवतः नेपालमै पहिलोपटक यस किसिमको भलिबल खेल हुन लागेको बताए । ‘यो जहीँतहीँ खेलाउन सम्भव हुँदैन, मापदण्ड पुग्ने पौडीपोखरी चाहिन्छ’, उनले भने, ‘गलकोटमा पूर्वाधार पनि भएको र खेलाडी पनि उत्सुक देखिएकाले प्रतियोगिता पक्कै सफल हुनेछ ।’
यस प्रतियोगिताबाट नयाँ अनुभव, सिकाइ र पानीमा खेलिने भलिबलको सम्भावना पहिल्याउन पनि सघाउ पुग्ने विश्वास लिइएको छ । पौडीपोखरीभित्र भलिबल खेल हुने चर्चाले खेलप्रेमी पनि प्रतियोगिता हेर्नका लागि उत्साहित छन् । रिसोर्ट परिसरमा रहेको २० मिटर लामो पौडीपोखरीमा खेल हुनेछ ।
एक टोलीबाट चारजना खेलाडी स्पर्धामा उत्रनेछन् । खेल लिग प्रणालीबाट खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टोलीले नगद रु ३० हजारसहित कप र मेडल र दोस्रोले रु १५ हजारसहित मेडल र तेस्रोले रु आठ हजार पुरस्कार पाउनेछ । टोली दर्ता शुल्क रु दुई हजार राखिएको छ । प्रतियोगिता सञ्चालनका लागि रु एक लाख ५० हजार खर्च हुने आँकलन आयोजकको छ ।
पुरस्कारका लागि प्रायोजनसमेत जुटाइएको छ । जिल्ला भलिबल सङ्घका अध्यक्ष याम श्रीसले पानीमा खेलिने भलिबलबारे आफूलाई धेरै जानकारी नभएको प्रतिक्रिया दिए । ‘अन्यत्र देशमा त खेलेको देखिन्छ, नेपालमा अहिलेसम्म भएको थाहा छैन, यसको प्राविधिक पक्ष र अरू विषयमा म पनि अनभिज्ञ छु’, उनले भने ।
अध्यक्ष श्रीसले सानो स्तरबाट भए पनि खेल आयोजना हुनुलाई सुखद मान्नुपर्ने बताए । गलकोट भलिबलका लागि नामुद ठाउँ हो । पछिल्लो समय गलकोट भलिबल टोलीले देशका विभिन्न भूभागमा हुने प्रतियोगितामा लगातारजसो जीत निकालेको छ । गत साता ताप्लेजुङको पाथीभरामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधिसँगै नगद रु पाँच लाख ५५ हजार ५५५ हात पारेको टोलीका प्रशिक्षक केसीले बताए ।
त्यसअघि मोरङको उर्लाबारीमा भएको प्रथम संसारीमाई जल्पादेवी कप भलिबल प्रतियोगिताको उपाधि पनि गलकोटले हात पारेको थियो । गत पुसमा स्याङ्जाको पुतलीबजारमा भएको दोस्रो पुतलीबजार कप अन्तरपालिका भलिबल प्रतियोगितामा पनि गलकोट विजयी बन्दै उपाधिसँगै रु पाँच लाख जितेको थियो ।
गत वर्षको प्रथम पुतलीबजार कपमा पनि गलकोट नै विजयी बनेको थियो । जिल्लादेखि क्षेत्र र राष्ट्रियस्तरका प्रतियोगितामा समेत गलकोटका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । गलकोटबाट जापानलगायत देशमा पुगेका युवाले पनि क्लब गठन गरी भलिबल प्रतियोगिता आयोजना गर्दै आएका छन् ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्