आमा तिमी छौं र म छु ……..
आमा
आमा यो संसारमा जन्माएर भएको छु धन्य
तिम्रो त्याग अनि महिमाको गान छ सर्वमान्य
खुशी छु पाई तिम्रो आधा हिस्सा मेरो शरीरमा
मेरो लागि बगायौ पीयूष सरी दूधको धारा
भुलिनौ हर अवस्थामा मप्रतिको अभिभारा
तिम्रो मूर्ति देखिन्छ सबै ममताको मन्दिरमा
मेरो स्याहारमा सह्यौ हरेक अड्चन अप्ठेरो
बिसन्चो हुँदा काखी च्यापी हिँड्यौ भनिनौ अँधेरो
गलिनौ केश दुख्ने ग्रीष्म मुटु काम्ने शिशिरमा
तिम्रो गर्भबाट नै जीवन मेरो भयो प्रारम्भ
मलाई मजबुत पार्ने तिमी हौ बलियो स्तम्भ
आमाको साथ कहाँ हुन्छ सबको तकदिरमा
आमा सायद मैले बोलेको यही पहिलो शब्द
तिम्रो बोली नसुन्दा हरेक घडी हुन्छु म स्तब्ध
तिम्रो नै नाम जप्न पाउँ जीवनको आखिरमा
आफ्नो रंगले सिंगार्यौ मेरो बालापनको पृष्ठ
ममा सारा खुशी अर्पण गर्ने तिमी छौ वरिष्ठ
तिम्रै रङ्ग खोज्ने गर्छु हर रङ्गको अबिरमा
सबै सँगको लडाईमा बन्यौ तिमी मेरो आड
मेरो सुरक्षामा पुर्यौ खाल्डो अनि चढ्यौ पहाड
जसरी राजहंसले चल्ला काढ्छ अग्लो भिरमा
मलाई सम्हाल्दा कति दुखे तिम्रा भुजा पैताला
सांसारिक रीति सिकाउने पहिलो पाठशाला
सिकेँ असारमा रोपेको धान फल्छ मंसिरमा
प्रत्येक सन्तति प्रतिको आमाको न्यानो ममता
मेरो अन्तर्भाव बुझ्ने तिम्रो त्यो अद्भुत क्षमता
तिमीप्रति गुनासो छैन न राजा न फकिरमा
तिमी भगवानको अतुलनिय उदाहरण
पाऊँ माथ झुक्न खोज्ने तिम्रो त्यो पवित्र चरण
आशिष दिन सदैव होस् तिम्रो हात यो शिरमा
त्यो काखमा रमाउन पाउनु मेरो अहोभाग्य
तिमीबाटै जीवनको प्रेरणा पाउँछु मनग्य
तिमी पृथकता ल्याउँछौ जीवनको लकिरमा
सिंगो घर नै उज्यालो पार्ने तिमी पूर्ण गृहिणी
मेरो जिवनको मुस्कानमा छु तिमीप्रति ऋणी
छ म रोएको सुरु दिनको तिम्रो हाँसो तस्बिरमा
तिम्रो कोखमा पलाएको थिएँ बनी सूक्ष्म भ्रुण
तिमीले नि भर्यौ ममा चाहिने हरेक सद्गुण
जसरी खोलाले जमिन मलिलो पार्छ तीरमा
म निदाओस् भनेर बस्यौ है कति रात जाग्राम
मलाई खुसी राख्न लुकाउँछ्यौ वेदना तमाम
तिम्रै छवि देखिन्छ नि हर विधाका माहिरमा
तिम्रो माहात्म्य गाउने अपुरो हुन्छ हर काव्य
मलाई सिकाएको बानी नै हो मेरो ठूलो द्रव्य
तिम्रो मेजमानी आशा गरेको देख्छु मुसाफिरमा
जन्म दिने आमा समान छ हाम्रो नेपाल आमा
हाम्रो देश रोएको छ है नेताको दबदबामा
देशमा बहार ल्याउने गुण छैन वजिरमा
– डेभिड नापित
क्याटेगोरी : विचार/बहस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्