लकडाउनमा म र मेरो देश
विश्वका अधिकाशं देश यतिबेला लकडाउनमा छ । हरेकको मनमा कोरोनाको त्रास बलियोसँग गढेर बसेको छ । अनि म केही घण्टाकै लागि आफैलाई केही विषयवस्तुमा हराँउदै मनको डर भगाउदै कर्तव्य पथमा हिँडिरहेकी छु, मन भित्र कोरोनाको त्रास भने जीवितै छ ।
म पेसाले पत्रकार यानि कि एउटा रिपोर्टर । लकडाउन भएकै दिनदेखी एक्ली भएकी छु, कोठामा मात्रै होईन, फ्ल्याटमै कोही छैनन् । सबै गाँउ फर्किए । हुन त मलाई पनि गाँउ जान मन नलागेको कहाँ हो र ? तर सरकारले १ हप्तामात्रै गरेको लकडाउन बढिमा चैत्र महिना मात्रै लगाउँछ भन्ने सोचेकी थिए । तर त्यसो भएन सरकारले लकडाउन थप्दै लग्यो ।
अनलाईन तथा पत्रपत्रिकामा कार्यरत साथी सबै घरमै बसेर काम गर्न थालियो भन्दै अनेक फोटो पोष्ट गरिरहेका हुन्थ्ये । तर हाम्रो काम भने घरमा बसेर गर्न सम्भव थिएन । म एक टेलिभिजनकर्मी र भिडियो अनिवार्य भएकाले हामी समाचार संकलनका लागि अनिवार्य फिल्डमा पुग्नै पथ्र्यो । भलै त्यतिबेला देशैभरी कोरोना संक्रमित बिरामी न्यून संख्यामा थिए तर मनमा डरको पहाड भने ठूलो थियो । बाहिर रिपोर्टिङ जाने भनेपछि मनमा एक खालको त्रास सिर्जना हुन्थ्यो ।
लकडाउन सुरु हुनासाथ हाम्रो रिपोर्टिङ सेड्युल परिवर्तन गरियो । १÷१ दिन बिराएर मात्रै अफिस आउने नियम लागु भयो । त्यसपछि हामी हरेक दिन अफिसमा दैनिक ४ देखि ६ जना रिपोर्टर साथी उपस्थित हुने गरि काममा नियमिता दिन थाल्यौंं । फिल्डमा सकभर कम जाने गरि काम गर्न सुरु ग¥यौं । रिपोर्टको लागि चाहिने बाईट पनि टेलिफोनबाटै लिन सुरु ग¥यौं अनि पछि भाईबरबाट सुरु ग¥यौं । म पनि १÷१ दिन गरेर जान थाले ।
कुनै दिन फिल्डमा जाँदा भने के के छोईन्छ सबै ध्यान दिन्थे । तर सोचेर र सम्झेर मात्रै के साध्य चल्छ र ? कहिले बसपार्कमा घर जाने मानिसको भिडभाडको अवस्था खिच्नेदेखी बजारमा खाद्यान्न आपूर्तिको अवस्थाा के छ भनेर बजार सम्म पुग्ने त कहिले सिंहदरबार अनि कहिले खाद्यन्न संस्थानको ईन्डक्सन चुल्हो लिनेको लाममा पुग्ने गरिन्थ्यो । मास्क अनिवार्य त गरिएकै थियो, हातमा पन्जा अनि साथमा सेनिटाईजर । तर मनमा अशान्ति भने रहिरहन्थ्यो ।
बेलुका सबै काम सकेर फर्कदा साँझको ८ बजेकै हुन्थ्यो । कोठामा फर्केपछि सकेसम्म दिँउसो लगाएको कपडा, जुत्ता र झोला बाहिरै राखेर डिटोलपानीले हातखुट्टा सफा गरेर कोठामा पस्दा ममा कोरोना पो आएको छ की भन्ने भान भई नै रहन्थ्यो ।
जब काठमाडौंमै कोरोना संक्रमण देखियो, पनि मनमा एक प्रकारको आतंक नै फैलियो । त्यसपछि अझै सचेत हुन थाले, अरुसँग बस्दा वा बाहिर निस्कँदा सामाजिक दुरी कायम नै गरेर बस्थे । तर मन कहाँ सन्तुष्ट हुन्थ्यो र कतै कोहीबाट स¥यो की भन्ने लागीरहन्थ्यो । बैशाख ३ मा देखिएका कोरोनाको बिरामी निको भएको केही दिनमै फेरि चन्द्रागिरि नगरापालीकामा फेरि अर्का कोरोना संक्रमित भेटिएपछि मनको त्रास शिखरमा पुग्यो । डरको आतंक त छँदै थियो, घरबाट पनि तारन्तार फोन आउन थाल्यो ।
कहीकतै नजा, जागिर छोडेर घर आईज भन्ने अनुरोध आमाले गर्न थाल्नुभयो । मुखले आँउछु त भनेकी थिँए तर नैतिकताले पनि यो बेला छोड्दा अफिसलाई धोका दिएझै हुन्छ भनेर नाई पनि भन्न सकिन हुन्छ भनेर घरपनि जान सकिन । सडकमा हिँड्दा सुनसान हुन्थ्यो, सुरु सुरुमा त रमाईलो नै लागेको थियो कति शान्त सडक भनेर तर पछि अनुभव हुन थाल्यो त्यो शान्ति होईन लकडाउन थियो । सम्झिन्थे साथीहरु सबै घरभित्रै थुनिएका छन् घरबाटै काम गरिरहेका छन् ।
हामी सडकमा हुन्थ्यौं त्यति बेला, अनि लाग्न थालेको थियो हामी युद्धभुमीमा छौं भन्ने । हरेक दिन हरेक नयाँ विषय वस्तुसँग साझात्कार भईरहिन्छ । सरकारको भूमिका, नागरिकको दायित्व अनि आफ्नै कर्तव्यप्रति ।
सिमा मिच्दै भारतले सिमानामा बाटो उद्धघाटन गरेको, रुकुमको चौरजहारीमा भएको मानव संहार, सुर्यतामाङहरुले भोकै ज्यान गुमाउनुपरेको, हरेक कोरोना संक्रमित बिरामीको मृत्यु पछि मात्रै कोरोना पुष्टि भएको, कोरोना फैलिईरहेको भारतबाट दैनिक हजारौंको संख्यामा ज्वरो मात्रै जाँच गर्दै नेपाल फर्किईरहेको, सरकारले कोरोना संक्रमित बिरामीलाई सहज रुपले राख्न नसकेको बेला राष्ट्रपतिले गलैँचा फेर्न लागेको अनि लकडाउनकै समयमा सरकारले जबरजस्त कर मागीरहेको ।
सायद यिनै विभिन्न विषयवस्तुले मनको डर केही समयका लागि पर धकेलिदिन्छन् । अनि फेरि समाचार बनाईन्छ अनि पढिन्छ आज कोरोना संक्रमित बिरामी २५ सय नजिक पुगे ।
(एक टेलिभिजनकर्मीको अनुभव )
क्याटेगोरी : विचार/बहस, समाचार
ट्याग : #पत्रकार, #लकडाउन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्