पर्यटन प्रचार गर्न मनाङको ‘साइक्लिङ’
लामो समय कोभिड– १९ को सङ्क्रमण न्यूनीकरणपश्चात् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको ‘नेचर लभर साइक्लिङ ग्रुप लेकसाइड’ पोखराका सदस्यहरु मनाङ्को भ्रमणमा आएका छन् । उक्त समूहका सदस्यले बेमौसमी वर्षाका बाबजुद पनि बिहीबारदेखि यात्रा थालेका हुन् । अन्नपूर्ण पदमार्गको प्रवद्र्धनका साथै भ्रमण गरी पर्यटकलाई यात्राका बारेमा जानकारी दिने र आवश्यक प्रचारप्रसार गर्ने उद्देश्यले यत्रामा निस्किएको समूहका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा अग्लो स्थान (४९१९ मिटर)मा रहेको तिलिचो तालसम्म साइकलका माध्यमबाट नै पुग्ने योजना रहेको छ । उनीहरुले १३ दिने प्याकेज बनाएर तिलिचो ताल र अन्नपूर्ण पदमार्गको भ्रमणमा निस्किएका हुन् । पहिलो दिनमा पोखराबाट यात्रा सुरुआत गरी लमजुङको बेंसीशहर हुँदै स्यागेमा पुगेर रात बसेको र दोस्रो दिन स्यागेबाट धारापानीसम्मको यात्रा भइरहेको पौडेलले बताउनुभयो । उक्त समूह शुक्रबार हिमाली जिल्ला मनाङको धारापानीमा पुगेर बस्ने उहाँले बताउनुभयो । “बेमौसमी वर्षाले मनाङका सडकमा धेरै समस्या रहेको छ । पर्यटन आउने मौसममा नै सडकको समस्याले धेरै असर गरेको छ । जिल्लामा भित्रिने पाहुनालाई सहज बनाउनका लागि जिल्लावासी र सम्बन्धित निकाय सजग हुनुपर्ने देखिएको छ”, संयोजक पौडेलले भन्नुभयो, “पदमार्गसँगै सडकमा पैदलयात्रा गर्नसमेत समस्या भएको पायौँ, सायद मौसममा सुधार भएमा सहज हुनेछ भन्ने अपेक्षा छ ।” पोखराका १२ साइकलयात्री साइकल यात्रामा निस्किएका हुन् ।
उनीहरु शनिबार धारापानीबाट मनाङको सदरमुकाम चामे आइपुग्नेछन् । आइतबार चामेबाट मनाङ गाउँ पुग्ने तालिका रहेको छ । त्यस्तै सोमबार मनाङ गाउँबाट तिलिचो बेसक्याम्प, मङ्गलबार तिलिचो बेसक्याम्पबाट याक खर्कसम्मको यात्रा गर्नेछन् । त्यसैगरी बुधबार बेसक्याम्पबाट थोराङ्ला पास, बिहीबार थोराङ्ला पासबाट मुक्तिनाथको यात्रा तय गर्ने योजनासहित साइकलयात्रीको समूह भ्रमणमा निस्किएको अर्का संयोजक धरमबहादुर लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार मुक्तिनाथदेखि मार्फा, शनिबार मार्फादेखि तातोपानी, आइतबार तातोपानीदेखि गोडेपानी र सोमबार गोडेपानीदेखि पोखरा पुगेर यात्राको समापन गर्ने योजना रहेको छ । मौसममा केही सुधार भएपछि मनाङमा पर्यटनलाई तिलिचो तालसम्म जान दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो ।
आन्तरिक तथा बाह्य पर्यटक आउने मौसम भएकाले पनि मौसमको अनुकूलताअनुसार पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पाससम्म गर्न दिइएको उहाँले बताउनुभयो । “मौसम अनुकूल भएको अवस्थामा पर्यटकलाई आवतजावत गर्न दिइएको छ । सुरक्षा व्यवस्था पनि गरिएको छ । सबै स्थानमा सडक सहज नभए पनि सुरक्षित यात्रा गर्ने वातावरण बनाउनतर्फ लागिपरेका छौँ । मौसम सुधार भएपछि भने सडकको पनि मर्मत गर्ने तयारीमा रहेका छौँ”, प्रजिअ आचार्यले भन्नुभयो ।
क्याटेगोरी : पर्यटन
ट्याग : #मनाङको 'साइक्लिङ'
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्