चीनको ग्रेटवालको झल्को दिने गरी ‘मिनी ग्रेटवाल’ निर्माण
चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजनाबमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गर्न लागिएको हो । गत वर्षदेखि निर्माण शुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न थालेको छ । निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् ।
रोटरी क्लबले गण्डकी प्रदेशका १४ देखि १८ वर्षसम्मका युवालाई आज मिनी ग्रेटवालको भ्रमण गराएको छ । क्लबको आयोजनामा तीन दिनदेखि बन्दीपुरमा युवा नेतृत्व विकास तालीम सञ्चालन भइरहेको छ । तालीममा भाग लिन आएका युवालाई बन्दीपुरको पर्यटनका बारेमा जानकारी गराउन सो ठाउँको भ्रमण गराइएको रोटरी क्लब अफ दमौलीका पूर्वअध्यक्ष एवं पर्यटनविज्ञ हरिसिं गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा मिनी ग्रेटवाल पर्यटकको रोजाइमा पर्ने गरेको बताउनुभयो । बन्दीपुर घुम्न आएका सबैजसोले यस ठाउँका बारेमा चासो लिने गरेका छन् ।
“बन्दीपुरमा नयाँ–नयाँ पूर्वाधार थप गर्ने उद्देश्यबमोजिम मिनी ग्रेटवाल निर्माण थालेका हौँ, मिनी ग्रेटवाल निर्माणका लागि सरकारले पनि बजेट सहयोग गरेको छ”, उहाँले भन्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडि बढाउन सहज हुने उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालु आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ । गत वर्ष रु ७० लाख खर्च भएकामा चालु आर्थिक वर्षमा रु ३० लाखको काम भइरहेको छ ।
“पर्यटन मन्त्रालयको बजेटबाट शुरुआती विन्दुबाट मिनी ग्रेटवालको कामलाई अन्तिम रुप दिने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो । कूल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत अनुमान गरिएको अध्यक्ष थापाले बताउनुभयो । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गर्ने योजना छ ।
विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिने छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । यस पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामकरण गरिएको छ ।
पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् । पदमार्ग पर्खाल निर्माण सम्पन्न भएसँगै पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान छ ।
क्याटेगोरी : पर्यटन
ट्याग : #मिनी ग्रेटवाल’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्