रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिन राप्रपा तयारी
विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तयार भएको छ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बिहीबारको बैठकमा मिश्रलाई राप्रपामा प्रवेश गराउनेबारे घनीभूत छलफल भएको थियो।
मिश्रलाई पार्टीमा ल्याउन राप्रपाका शीर्ष नेता तयार भए पनि कुन पद दिने भन्ने विषयमा फरक-फरक मत आएका थिए।
मिश्रलाई राप्रपामा ल्याउन लामो छलफल भएको र वरिष्ठ उपाध्यक्ष पद दिने सहमति भएको अध्यक्ष राजेन्द्र लिङ्देननिकट एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिए।
‘मिश्रले वरिष्ठ उपाध्यक्ष पद लिन चाहेको भन्ने कुरा आयो, त्यसैले मागेअनुसारकै पद दिने शीर्ष नेताहरूबीच सहमति भएको छ,’ ती नेताले भने, ‘केही दिनभित्र मिश्रजी राप्रपामा आउनुहुनेछ।’
अब अध्यक्ष लिङ्देन र मिश्रबीच एक चरण छलफल पछि मिश्र राप्रपामा प्रवेश गर्ने मिति तय गरिने ती नेताले जानकारी दिए।
मिश्रले सुरूमा राप्रपा नेताहरूसँग सहअध्यक्ष पद मागेको चर्चा भएको थियो। तर मिश्रनिकटले भने कुनै पनि पदमा आफूहरूले दाबी नगरेको बताइरहेका थिए।
राप्रपामा अहिलेको विधानअनुसार वरिष्ठ उपाध्यक्ष पद छैन। मिश्रलाई यो पद दिन राप्रपाले विधान संशोधन गर्नुपर्ने हुन्छ। राप्रपामा ८ जनासम्म उपाध्यक्ष रहने व्यवस्था छ तर अहिले ६ जना उपाध्यक्ष छन्।
‘हाम्रो विधानमा वरिष्ठ उपाध्यक्षको पद छैन। तर बाहिरबाट ल्याउने नेताहरूलाई वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरी व्यवस्थापन गर्न मिल्छ, पछि विधानमा यो कुरा समावेश गर्दै जाने हो,’ ती नेताले भने, ‘पार्टीले आवश्यकताअनुसार अरू पनि वरिष्ठ उपाध्यक्ष राख्न सक्छ।’
राप्रपाभित्र गत मंसिरको महाधिवेशनपछि पदाधिकारीको वरीयताका कुरा मिलिसकेको छैन। अध्यक्ष लिङ्देनपछि को भन्ने विवाद छ।
राप्रपामा रहेका ६ जना उपाध्यक्षमध्ये वुद्धिमान तामाङ र विक्रम पाण्डेबीच वरीयतामा विवाद भएपछि मिलाउन एक समिति नै गठन गरिएको छ।
उपाध्यक्ष तामाङले आफू सिनियर भएको बताउँछन् भने अर्का उपाध्यक्ष पाण्डे महाधिवेशनमा आफूले धेरै भोट ल्याएकोले अध्यक्षपछि वरीयतामा आफूलाई राख्न माग गर्छन्।
‘वरीयता नमिल्दा राप्रपाका कतिपय निर्णयमा हस्ताक्षर गर्न तामाङ र पाण्डेले कहिलेकाहीँ मान्दैनन्,’ ती नेताले भने।
वरीयता विवाद समाधान नगरी राप्रपाले वरिष्ठ उपाध्यक्ष पद दिने गरी मिश्रलाई पार्टीमा ल्याउन लागेको हो। राप्रपाका नेताहरूले वरीयताका कुरा पछि मिलाउँदै जाऔंला भनेर मिश्रसँग पहिलेदेखि नै भनिआएका थिए।
मिश्र राप्रपा प्रवेश गरी हलो चुनाव चिन्हबाट काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा छन्। मिश्र २०७४ मा पनि यही क्षेत्रमा चुनाव लडेर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग थोरै मतान्तरले पराजित भएका थिए।
राप्रपाको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले समान विचार भएकाहरूसँग एकता र सहकार्य गर्ने निर्णय गर्दै मिश्र लगायतलाई पार्टीमा प्रवेशको ढोका खुलासमेत गरेको छ।
राप्रपाले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेकपा एमालेसँग चुनावी तालमेल गर्नेबारे पनि छलफल गरिरहेको छ।
केही समयअघि बालकोट पुगेर अध्यक्ष लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यसबारेमा छलफल गरेका थिए। राप्रपा र एमालेबीच चुनावी तालमेल भए काठमाडौं १ मा चुनाव लड्न सहज हुने मिश्रनिकटले बताउँदै आएका छन्।
स्थानीय चुनावको परिणाम सोचेअनुसार नआएपछि मिश्रले विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। मिश्रले राप्रपामा प्रवेश गर्दा विवेकशील साझाका केही नेताहरूलाई पनि आफूसँगै ल्याउने तयारी गरेका छन्। सेतो पाटि
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #रवीन्द्र मिश्र, #रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिन राप्रपा तयारी, #राजेन्द्र लिङ्देन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्