कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार मनोनयन दर्ता हुँदै
काठमाडौँ, २५ मङ्सिर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । मनोनयन दर्ता गर्न सभापतिका लागि रु ३० हजार, उपसभापति र महामन्त्रीका लागि रु २५ हजार, सहमहामन्त्रीका लागि रु २० हजार र केन्द्रीय सदस्यको १० हजार दस्तुर निर्धारण गरिएको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । मनोनयनका लागि लाग्ने रकम महाधिवेशन स्थल भृकुटीमण्डपमा नै प्रभु बैंक अस्थायी रुपमा स्थापना गरेर समितिको खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते विहान ८ बजेदेखि हुनेछ । पार्टीको संस्थापन समूह र संस्थापन इतर समूहले प्यानलगत रुपमा उम्मेदवारी दिने बताइएको भए पनि अहिलेसम्म प्यानल घोषणा गरिएको छैन् । हालसम्म केन्द्रीय सभापतिमा प्रधानमन्त्री एवं वतर्मान पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महमन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा शेखर कोइराला मुख्य आकांक्षी देखिनुभएको छ ।
अन्य पदाधिकारी तथा सदस्यमा भने नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । मतदान भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुने जनाइएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको संख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधीको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो । यस अघि शुक्रबार भृकुटीमण्डपमा भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन भएको थियो । उद्घाटन सम्पन्न भएपछि शुक्रबार नै राति ९ बजे भएको बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश गरिएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेसको १४औँ महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्