स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले आज यहाँ आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा क. प्रचण्ड’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा नीतिगतरूपमा आमूल परिवर्तन ल्याउनुपर्ने बताउनुभएको हो । उहाँले राजनीतिक परिवर्तन भए पनि पुरानै ऐन, नियम र परम्परा कायम रहेकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन नसकेको उल्लेख गर्नुभयो । दाहालले भन्नुभयो, “राजनीतिक परिवर्तन हुन्छ, ऐन, नीति परम्परा बदलिँदैन, संविधानअनुसार ऐन छैन ।
” संविधानमा समाजवादोन्मुख राज्य भने पनि व्यवहारमा त्यो लागू गर्न नसकिएको बताउँदै उहाँले भन्नुभयो, “संविधान र राजनीतिक दस्तावेजमा राम्रा कुरा लेखिए, तर व्यवहारमा आएन ।” आफूहरुले देखेको सपना स्वास्थ्य र शिक्षा राज्यको दायित्वभित्र पर्ने विषय भएको जनाउँदै उहाँले स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारका रूपमा लिएर पनि ठोसरूपमा प्रगति हुन नसकेको बताउनुभयो ।
भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अर्बौँ लगानी भइसकेकाले क्यान्सरसँग सम्बन्धित केन्द्र अन्यत्र हुन नसक्ने उहाँको भनाइ थियो । क्यान्सर प्रतिष्ठान भक्तपुरमा बनाउन लागिएको सन्दर्भमा उहाँले भन्नुभयो, “क्यान्सरको केन्द्र चितवनबाहेक अन्यत्र बनाउन सम्भव छैन ।” भरतपुर अस्पताल केन्द्रीय अस्पताल भए पनि दरबन्दी र भौतिक पूर्वाधारमा काम हुन नसकेकाले अब यस अस्पताललाई पनि एकीकृत प्रतिष्ठानभित्र राखेर सुविधासम्पन्न र व्यवस्थित बनाउनुपर्ने उहाँको भनाइ थियो । नेपाल आफैँले कोरानाविरुद्धको खोप उत्पादन गरेर आत्मनिर्भर हुनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आफ्नै खोप उत्पादन हुनुपर्छ, चितवनमा भए अझ राम्रो ।” कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकरी, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम, नेपाल चिकित्सक सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा अनिलविक्रम कार्की, निजी अस्पताल समन्वय समितिका अध्यक्ष नारायणसिंह कुँवर, डा कृष्णसागर शर्मा, डा मधु न्यौपाने, डा आविस्कार चापागाईँलगायतले स्वास्थ्य क्षेत्रका समस्याबारेमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डलाई अवगत गराउनुभएको थियो ।
कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष नीरा अधिकारीको अध्यक्षतामा भएको थियो । चार दिनदेखि अध्यक्ष दाहाल गृह जिल्ला चितवनमा हुनुहुन्छ । उहाँ जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #अध्यक्ष पुष्पकमल दाहाल, #नेपाल कम्युनिष्ट पार्टी, #संविधान र राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्