ऐतिहासिक मकवानपुर गढी दरबार (फोटो फिचर)
मङ्सिर २१ गते । ऐतिहासिक, पुरातात्वक र सामरिक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर जिल्लाको सदरमुकाम हेटौँडाको बुद्ध चोकबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मिटर उचाइको पहाडी थुम्कोमा अवस्थित छ ।
मकवानपुर गढीको आफ्नै छुट्टै इतिहास छ । आधुनिक नेपालको स्थापना हुनुपूर्व सेन वंशीय शासनको ऐतिहासिक विरासतको जीवन्त इतिहास मकवानपुर गढीले बोकेको छ । परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरूप मकवानपुर गढीले तत्कालीन समयको सामरिक महत्त्व तथा राज्यको सुरक्षात्मक उपाय झल्काएको छ ।
मकवानपुर गढी गाउँपालिका–२ मा अवस्थित उक्त गढी किल्लाभित्र रहेका दरबार, मन्दिर र पर्खालहरू भत्किएर जीर्ण बनेपछि जीर्णोद्धार गरिएको थियो । पुरातत्त्वले मकवानपुर गढीको भत्किएका भागहरूलाई मर्मत गरी पुरानै आकृतिमा संरचनाहरू निर्माण गरेको हो । यहाँ चितवन, मकवानपुर र मधेश प्रदेशका विद्यार्थीहरु अध्ययन भ्रमण र पिकनिक खान आउने गरेका छन् । यहाँको ऐतिहासिक महत्त्व, मनमोहक दृश्य र पुराना किंवदन्तीले यहाँ पुग्ने जो कोहीलाई प्रसन्नता प्रदान गर्ने मकवानपुर गढी गाउँपालिका २ नं. वडा अध्यक्ष बखानसिंह पाख्रिनले जानकारी दिनुभयो ।
मकवानपुर गढीभित्र वंश गोपाल मन्दिर छ । मन्दिरभित्र कृष्णलाई फलामे साङ्लोले बाँधेर राखिएको छ । मन्दिरको केही तल एउटा गुफा छ । त्यही गुफाबाट कृष्ण ओहोरदोहोर गर्थे भन्ने यहाँका पुजारी डम्बरप्रसाद घिमिरेको भनाइ छ । त्यस समयमा चितवनमा तोरी खेती हुन्थ्यो । उहाँ त्यहाँसम्म पुगेर आउनुहुन्थ्यो । कृष्ण राति बाहिर जाने र बिहान मात्रै फर्कने गर्दा अनिष्ट आइपर्ला भनेर उहाँलाई गाउँलेले बाँधेर राखेको किम्बदन्ती रहेको पुजारीले जानकारी दिनुभयो ।
सेन वंशका राजाहरूले १३ औँ शताब्दीको सुरुतिर यहाँ शासन गरेको इतिहास पाइन्छ । सेन वंशका प्रतापी राजा मुकुन्द सेन कै नामबाट मुकुन्दपुर, माकन्दपुर, मुकुनपुरको अपभ्रंश हुँदै मकवानपुर नामकरण भएको हो भन्ने जनविश्वास छ । सेन वंशका लोहाङ्गसेनदेखि अन्तिम राजा दिग्बन्धन सेनसम्मका राजाहरूले करिब तीन सय वर्षसम्म मकवानपुर गढीलाई राजधानी बनाई राज्य गरेका थिए ।
मकवानपुर गढी राजा तुला सेनको राज्य कालमा निर्माण गरिएको विश्वास गरिन्छ । गढीको तीन वटा भाग रहेका छन्, ठुलो गढी, सानो गढी र डुङ्गेगढी । ठुलोगढीमा दुई–दुई वटा दरबार, मन्दिर तथा पानी ट्याङ्कीहरू रहेका छन् भने ठुलो गढीको दक्षिण–पश्चिममा करिब तीन सय मिटरको दूरीमा सानो गढी र करिब २ किमि उत्तर पूर्वमा ढुङ्गे गढी छन् ।
मकवानपुर गढीले एकीकरण अभियानलाई साकार पार्न तथा विदेशी सेनाहरूलाई धपाई देशलाई जोगाउन तथा नेपाललाई स्वाधीन राष्ट्रको रूपमा विश्व सामु उभ्याउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
क्याटेगोरी : फोटो फिचर
ट्याग : #breaking, #ऐतिहासिक मकवानपुर गढी दरबार (फोटो फिचर)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्