Techie IT
मंगलबार, असोज १३,२०८३

कांग्रेस संखुवासभामा महाधिवेशन प्रतिनिधिको नामावलीप्रति उम्मेदवारको असन्तुष्टि


संखुवासभा । नेपाली कांग्रेस संखुवासभामा १५ औँ महाधिवेशनका लागि विभिन्न कोटाबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि चयन गर्न ३३ पदमा ७३ जना क्षेत्रीय प्रतिनिधिले मनोनयन दर्ता गराएका छन् । तर, उम्मेदवारी फिर्ता नलिएका कतिपय उम्मेदवारको नामसमेत हटाएर नेतृत्वले एकतर्फी रूपमा नामावली प्रकाशन गरेको भन्दै केही उम्मेदवारले असन्तुष्टि जनाएका छन् ।

३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिका उम्मेदवार राजन बस्नेतले सामाजिक सञ्जालमार्फत निर्वाचन प्रक्रिया पूरा नगरी केही नेताहरूको समूहले मनोमानी ढंगले नामावली तयार गरी सार्वजनिक गरेको आरोप लगाएका छन् ।

उनले उम्मेदवारहरूको सहमतिबिना तयार गरिएको सूचीको वैधानिकतामाथि प्रश्न उठाउँदै केही उम्मेदवार सहमत भए पनि असहमति जनाउने उम्मेदवारको सहमतिबेगर सूची सार्वजनिक गर्नु उचित नभएको बताएका छन् ।

बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, “एउटा निर्वाचन प्रक्रिया समेत पूरा नगरी जबर्जस्त ढंगले अगाडि बढ्दा यो अधिवेशनको वैधानिकताको प्रश्न खडा हुन्छ कि हुँदैन ?”

उनले कांग्रेसभित्र सुधार र लोकतान्त्रिक अभ्यासको कुरा भइरहेका बेला उम्मेदवारको सहमतिबेगर सूची प्रकाशन गर्नुले पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको उल्लेख गरेका छन् । साथै, भागबण्डाको सूचीमा परेर प्रतिनिधि हुने सबै नेताहरूलाई सफल कार्यकालको शुभकामनासमेत दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्