Techie IT
शुक्रबार, असोज ९,२०८३

बाल कल्याण गृहका बालबालिकालाई लायन्स मनराम फाउन्डेसन द्वारा शैक्षिक सामग्री र पोसाक सहयोग


खाँदबारी । लायन्स मनराम फाउण्डेशन २००५ ले संखुवासभाको खाँदबारीस्थित बाल कल्याण गृहमा आश्रित बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग गरेको छ ।
अभिभावकविहीन अवस्थामा बाल कल्याण गृहमा बस्दै आएका नौ जना बालबालिकाको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले फाउण्डेशनले एक सय ८० थान कापी र चार सय १० थान पेन्सिल उपलब्ध गराएको हो ।
बुधबार आयोजित कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले उक्त सामग्री बाल कल्याण गृहका संयोजक अनिष विष्टलाई हस्तान्तरण गर्नुभयो । सामग्री हस्तान्तरण गर्दै श्रेष्ठले बालबालिकाको शिक्षा तथा दैनिक आवश्यकतामा सहयोग पुर्‍याउने सामाजिक उत्तरदायित्वअन्तर्गत सामग्री प्रदान गरिएको बताउनुभयो ।
बाल कल्याण गृहका संयोजक विष्टले शैक्षिक सामग्रीको सहयोगले बालबालिकाको नियमित पठनपाठनमा प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो । अभिभावक गुमाएका बालबालिकाको संरक्षणसँगै शिक्षा र आधारभूत आवश्यकता पूरा गर्न सामाजिक संघसंस्थाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
यसैगरी, मनराम मोटर्स प्रालिले बाल कल्याण गृहमा आश्रित बालबालिकाका लागि १८ थान टिसर्ट सहयोग गरेको छ । मोटर्सका प्रमुख कार्यकारी अधिकृत विमल गौतमले बालबालिकालाई टिसर्ट हस्तान्तरण गर्नुभयो ।
बाल कल्याण गृहमा रहेका बालबालिकाको पालनपोषण, शिक्षा, स्वास्थ्य तथा दैनिक आवश्यकताका लागि विभिन्न व्यक्ति, संघसंस्था तथा सामाजिक संस्थाबाट समय–समयमा सहयोग प्राप्त हुँदै आएको गृहले जनाएको छ । यस्ता सहयोगले बालबालिकाको शिक्षा तथा संरक्षणमा टेवा पुग्नुका साथै उनीहरूको समग्र विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बाल कल्याण गृह, #बालबालिका, #लायन्स मनराम फाउन्डेसन, #संखुवासभा, #सहयोग


तपाईको कमेन्ट लेख्नुहोस्