१५औँ महाधिवेशन सफल बनाउन असोज १५ को वडा अधिवेशनमा जुट्न कांग्रेसजनलाई दिपक खड्काको अपिल
खाँदबारी, सङ्खुवासभा । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनमा सक्रिय सहभागिता जनाउन सङ्खुवासभाका कांग्रेस कार्यकर्तालाई अपिल गर्नुभएको छ ।
१५औँ महाधिवेशन मङ्सिर २१, २२ र २३ गते हुने कार्यतालिका रहेको उल्लेख गर्दै उहाँले वडा, पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशनमा क्रियाशील सदस्यहरूलाई सहभागी हुन आग्रह गर्नुभएको हो । सार्वजनिक कार्यतालिकाअनुसार वडा अधिवेशन असोज १५, पालिका अधिवेशन असोज २०, प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन असोज २३, जिल्ला अधिवेशन कात्तिक १५ र प्रदेश अधिवेशन मङ्सिर ४ गते गर्ने तयारी छ ।
खड्काले सङ्खुवासभाका कांग्रेसजनले आफूलाई निर्वाचनदेखि पार्टीका विभिन्न जिम्मेवारीमा निरन्तर साथ र विश्वास दिएको स्मरण गर्नुभएको छ । उहाँले २०७० सालको संविधानसभा निर्वाचनमा आफूलाई निर्वाचित गराउन जिल्लावासीले गरेको योगदान र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पुनः निर्वाचित गराएको विश्वासलाई आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण अध्यायका रूपमा उल्लेख गर्नुभएको छ ।
उहाँका अनुसार पार्टीले त्यसपछि आफूलाई जिल्ला सभापति, केन्द्रीय सदस्य हुँदै राज्यमन्त्री र विभागीय मन्त्रीको जिम्मेवारी दिएको थियो। ती जिम्मेवारी निर्वाह गर्ने क्रममा जिल्लावासीबाट प्राप्त सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ ।
कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर देखिएको विवादप्रति पनि खड्काले अपिलमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । केही समूहले छुट्टै महाधिवेशनको प्रक्रिया अघि बढाएर पार्टीलाई विभाजन गर्ने प्रयास गरेको उहाँको दाबी छ । चुनाव चिह्न रुख तथा चारतारे झण्डासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उहाँले अदालतको निर्णयप्रति आफू विश्वस्त रहेको बताउनुभएको छ ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद र महाधिवेशनको कार्यतालिकालाई लिएर पार्टीका विभिन्न समूहले आ-आफ्नै तयारी अघि बढाइरहेका छन् । कांग्रेसको एक पक्षले मङ्सिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ भने अर्को पक्षले असोजमै महाधिवेशन प्रक्रिया अघि बढाइरहेको सार्वजनिक विवरणमा उल्लेख छ ।
खड्काले प्रेस स्वतन्त्रताको सम्मान गर्ने बताउँदै सञ्चारमाध्यमबाट भ्रमपूर्ण सूचना प्रवाह गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउनुभएको छ । सामाजिक सञ्जालमा पार्टी, समूह वा व्यक्तिको नाममा तथ्यहीन सूचना फैलाउने, व्यक्तिगत गालीगलौज गर्ने तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीत गतिविधि गर्ने प्रवृत्ति स्वीकार्य नहुने उहाँको भनाइ छ ।
असहमति राख्दा तथ्य, तर्क र मर्यादाको सीमाभित्र रहेर अभिव्यक्ति दिनुपर्नेमा जोड दिँदै उहाँले स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक संस्कारको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
खड्काले सङ्खुवासभाका कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्यलाई निर्धारित अधिवेशनमा सक्रिय सहभागिता जनाई पार्टीको महाधिवेशन प्रक्रिया सफल बनाउन आग्रह गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #१५ औ महाधिवेशन, #कांग्रेस नेता दिपक खड्का, #नेपाली कांग्रेस, #मंसिर २१, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्