Techie IT
बिहीबार, असोज १,२०८३

‘द पब्लिक टुडे’को १४ वर्ष : विगतको समीक्षा, भविष्यको अपेक्षा


महोत्तरी जिल्लालाई नजिकबाट नियाल्दै, यहाँका सामाजिक, राजनीतिक, आर्थिक र विकासका गतिविधिलाई निरन्तर शब्दमा उतार्दै आएको ‘द पब्लिक टुडे’ आज १३ वर्षको यात्रा पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको छ । एउटा सञ्चारमाध्यमका लागि यो केवल वर्षगाँठको संख्या होइन, निरन्तरता, संघर्ष र प्रतिबद्धताको एउटा लामो दस्तावेज हो ।

१४ वर्षसम्म कुनै पत्रिकालाई निरन्तर प्रकाशनमा राख्नु चानचुने कुरा होइन । अनेकौँ बाधा–व्यवधान, आरोह–अवरोह, हिउँद, खडेरी र समयका अनेक प्रतिकूलता झेल्दै ‘द पब्लिक टुडे’ यहाँसम्म आइपुगेको छ । यसबीच महोत्तरीमै थुप्रै राष्ट्रिय दैनिकहरू आए, केही समय आफ्ना उपस्थिति जनाए र समयसँगै हराए । तर ‘द पब्लिक टुडे’ भने आफ्नो यात्रालाई निरन्तरता दिँदै अगाडि बढिरहेको छ ।

पत्रिका प्रकाशन गर्नु आफैँमा ठूलो कुरा होइन; त्यसलाई वर्षौँसम्म निरन्तरता दिनु नै सबैभन्दा ठूलो चुनौती हो । त्यस अर्थमा १४ वर्षको यो यात्रा आफैँमा एउटा उपलब्धि हो ।

१४ वर्षमा एउटा बालक लक्का जवान भइसकेको हुन्छ । विद्यालयका प्रारम्भिक कक्षाहरू पार गर्दै एसईई दिने उमेरमा पुगिसकेको हुन्छ । आफ्नो भविष्य, समाज र देशप्रतिको जिम्मेवारीबारे सोच्न थालिसकेको हुन्छ । त्यसैगरी, १४ वर्ष लामो सञ्चार यात्राले पनि एउटा संस्थालाई अनुभव, परिपक्वता र जिम्मेवारीको अर्को तहमा पुर्‍याएको हुन्छ ।

यही परिपक्वताको चरणमा अब ‘द पब्लिक टुडे’ले केही पक्षमा अझ गम्भीर ध्यान दिनुपर्ने देखिन्छ । विशेषतः नेपाली भाषा, व्याकरण र भाषिक शुद्धताप्रति अझ संवेदनशील बन्न आवश्यक छ । सञ्चारमाध्यमको पहिलो परिचय नै उसको भाषा हो । त्यसैले समाचारको विषयवस्तुसँगै त्यसको प्रस्तुति र भाषिक शुद्धता पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

त्यसैगरी, आफ्नै स्थानीय पत्रकारहरूले मेहनत र मिहिनेतका साथ पठाएका समाचारलाई पनि आत्मीयताको आधारमा छुट्याउने होइन, समाचारको महत्व र सत्यताका आधारमा समान स्थान दिने संस्कार अझ बलियो बन्नुपर्छ । समाचार कसले लेख्यो भन्दा पनि, समाचारले के देख्यो कि देखेन भन्ने कुरा मनन गर्नुपर्छ । स्थानीय पत्रकार नै स्थानीय समाजको आँखाजस्तै हुन् । उनीहरूले देखेको, भोगेको र खोजेको समाचारले नै स्थानीय पत्रकारितालाई जीवन्त बनाउँछ ।

अर्कोतर्फ, ‘द पब्लिक टुडे’को पहिलो पृष्ठमा वर्षौँदेखि ‘अङ्क’, ‘मूल्य’, ‘पृष्ठ’ लगायतका शब्दहरूको लेखाइमा देखिँदै आएका भाषिक अशुद्धितर्फ पनि अब गम्भीरतापूर्वक ध्यान जान जरुरी छ । यस्ता साना देखिने त्रुटिले पनि एउटा स्थापित सञ्चारमाध्यमको भाषिक पहिचानमा प्रभाव पार्न सक्छन् । त्यसैले १४औँ वर्षमा प्रवेशसँगै विगतका कमजोरीहरूलाई सच्याउँदै अझ परिष्कृत र जिम्मेवार पत्रकारितातर्फ अघि बढोस् मेरो सुवेक्षा छ ।

समय बदलिएको छ, सञ्चारका माध्यम र पाठकका रुचि बदलिएका छन् । छापा पत्रकारितासँगै डिजिटल पत्रकारिताको प्रभाव तीव्र रूपमा बढिरहेको छ । यस्तो अवस्थामा परम्परागत विश्वासलाई जोगाउँदै प्रविधिसँग कदम मिलाएर अघि बढ्नु नै आगामी यात्राको अर्को महत्वपूर्ण चुनौती हो ।

‘१२ वर्षमा खोलो त फर्कन्छ’ भन्छन्, तर केही धारहरू फर्किँदैनन् इतिहास कोर्न बगिरहन्छन् । १३ वर्षको अविराम यात्रापछि १४औँ वर्षमा प्रवेश गर्दै गरेको ‘द पब्लिक टुडे’को कलमले महोत्तरीको माटोमा सत्यका अझ गहिरा अक्षर कोरिरहोस् । शुभकामना ।

 

– जीवनराज दाहाल
(सदस्य : नेपाल पत्रकार महासंघ महोत्तरी)


क्याटेगोरी : समाचार
ट्याग : #जीवनराज दाहाल, #द पब्लिक टुडे, #महोत्तरी, #साझापाना


तपाईको कमेन्ट लेख्नुहोस्