Techie IT
मंगलबार, भदौ ३०,२०८३

बूढानीलकण्ठको ‘गरुड क्यासिनो’ बाट ११ जना पक्राउ


काठमाडौं । बूढानीलकण्ठस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। बूढानीलकण्ठ नगरपालिका–१, तौलुङस्थित होटल लेमन ट्रीमा सञ्चालित ‘गरुड क्यासिनो’ बाट उनीहरू पक्राउ परेका हुन्।

नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर जुवातास खेलाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बूढानीलकण्ठको संयुक्त टोलीले क्यासिनोमा छापा मारेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार क्यासिनोबाट जुवा खेल्न प्रयोग हुने विभिन्न दरका क्वाइन, ९ थान मोबाइल फोन र १० लाख ८५ हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको छ।

प्रहरीका अनुसार बरामद क्वाइनमध्ये ५० हजार रुपैयाँ अंकित ८ थान, १० हजार रुपैयाँ अंकित १९ थान, १ हजार रुपैयाँ अंकित ८८ थान र १०० रुपैयाँ अंकित ५ थान रहेका छन्।

पक्राउ परेका ११ जनालाई जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई दुई दिनको म्याद थप गरिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपालको कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न निषेध गरिएको छ।

पक्राउ पर्नेहरू :

१. बिकी लामा, ३४ वर्ष — गोकुलगंगा गाउँपालिका–६, रामेछाप (हाल थली, काठमाडौं)
२. नुवाङ शेर्पा, ३९ वर्ष — माकालुङ गाउँपालिका–३, सोलुखुम्बु (हाल बौद्ध, काठमाडौं)
३. पासाङ शेर्पा, ३९ वर्ष — दुधकुण्ड नगरपालिका–६, सोलुखुम्बु (हाल गोकर्णेश्वर, काठमाडौं)
४. ज्योती मगर, ३२ वर्ष — गोलन्जर गाउँपालिका–५, सिन्धुली (हाल कागेश्वरी मनोहरा, काठमाडौं)
५. नारायण खत्री, ३५ वर्ष — वैतेश्वर गाउँपालिका–८, दोलखा (हाल बानेश्वर, काठमाडौं)
६. दिल लामा, ४४ वर्ष — गोकर्णेश्वर नगरपालिका–२, काठमाडौं
७. अशोक लामा, ४४ वर्ष — रोशी गाउँपालिका–१, काभ्रे (हाल ठमेल, काठमाडौं)
८. संजय तामाङ, ३२ वर्ष — दुप्चेश्वर गाउँपालिका–३, नुवाकोट (हाल गोकर्णेश्वर, काठमाडौं)
९. आशिष खड्का, ४० वर्ष — उमाकुण्ड गाउँपालिका–४, रामेछाप (हाल महालक्ष्मी नगरपालिका, ललितपुर)
१०. सबिनमान श्रेष्ठ, ४९ वर्ष — ललितपुर महानगरपालिका–६, ललितपुर
११. सुदिप अधिकारी, ३० वर्ष — जोरपाटी गाउँपालिका–४, धनकुटा (हाल पेप्सीकोला, काठमाडौं)


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बूढानीलकण्ठको ‘गरुड क्यासिनो’ बाट ११ जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्