Techie IT
शुक्रबार, कात्तिक १४,२०८३

सुनकोशी मरिणको नयाँ ठेक्का खुल्नै लाग्दा महानिर्देशक र आयोजना प्रमुख नियन्त्रणमा


काठमाडौं : सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया निर्णायक चरणमा पुगेका बेला सिँचाइ विभागका महानिर्देशक र आयोजना निर्देशकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि प्रहरीले बिहीबार दुवै अधिकारीलाई नियन्त्रणमा लिएर काठमाडौं ल्याएको हो ।

प्रहरीले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई सिरहाबाट र सुनकोशी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिएको थियो । तर, उनीहरूलाई प्रहरी हिरासतमा नराखी सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ ।

दुवै अधिकारीलाई नियन्त्रणमा लिएर ल्याउन निर्देशन दिइएको प्रहरी स्रोतको भनाई छ । उनीहरूलाई कुन कानुनी आधारमा नियन्त्रणमा लिइएको हो र के विषयमा सोधपुछ गर्न खोजिएको हो भन्नेबारे भने औपचारिक जानकारी सार्वजनिक भएको छैन ।

प्रारम्भिक रूपमा यो विषय आयोजनाको नयाँ ठेक्का प्रक्रियासँग जोडिएको बुझिएको छ ।

दुवै अधिकारी नियन्त्रणमा परेको समयमा आयोजनाको नयाँ ठेक्का छनोट प्रक्रिया अन्तिम चरणमा थियो । पुरानो निर्माण कम्पनीसँगको सम्झौता अन्त्य गरेपछि सिँचाइ विभागले नयाँ ठेकेदार छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।

प्राविधिक मूल्यांकन पूरा भइसकेको र योग्य ठहरिएका कम्पनीको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेको थियो ।

आयोजनाले गत २७ असोजमा सार्वजनिक गरेको सूचनाअनुसार तीन कम्पनीको प्राविधिक प्रस्ताव सारभूत रूपमा योग्य ठहरिएका थिए । योग्य कम्पनीमा चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, एनेङ–आरसीसी संयुक्त उपक्रम र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणालीमार्फत अघि बढाइएको प्रक्रियामा यी तीन कम्पनीको आर्थिक प्रस्ताव आगामी सोमबार १६ कात्तिकमा खोल्ने तयारी थियो । त्यसका लागि आयोजनाले बोलपत्रदातालाई उपस्थित हुन अनुरोधसमेत गरिसकेको थियो ।

तर, प्रस्ताव खोल्ने समय नजिकिँदै गर्दा ठेक्का प्रक्रियामा प्रत्यक्ष जिम्मेवारी रहेका दुई अधिकारी नै नियन्त्रणमा परेपछि आयोजना थप अन्योलमा परेको छ ।

यसअघि निर्माणमा ढिलाइ भएको भन्दै सरकारले पटेल–रमण संयुक्त उपक्रमसँगको ठेक्का तोडेको थियो । तत्कालीन अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङको कार्यकालमा गत वर्ष कात्तिकमा ठेक्का अन्त्य गर्ने निर्णय भएको थियो ।

१४ अर्ब ७ करोड ५९ लाख रुपैयाँ लागतमा बाँध निर्माणको जिम्मा पाएको उक्त कम्पनीले काम सुरु गरेको ३० महिनामा जम्मा ७ प्रतिशत मात्रै प्रगति गरेको थियो ।

सुनकोशी नदीको पानी सुरुङमार्फत मरिण खोलामा खसालेर बागमती सिँचाइ आयोजनामार्फत मधेस प्रदेशका पाँच जिल्लामा पुर्‍याउने लक्ष्य यस आयोजनाको छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले २०७७ सालमा आयोजना शिलान्यास गरिएको थियो ।

आयोजनाको सुरुङ निर्माणमा उल्लेख्य प्रगति भए पनि बाँध तथा अन्य संरचनाको काम भने अपेक्षित गतिमा अघि बढ्न सकेको थिएन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८१ वैशाख २६ गते सुरुङको अन्तिम छेडाइ सम्पन्न भएको घोषणा गरेका थिए । अहिले आयोजनाको समग्र भौतिक प्रगति करिब ३५ प्रतिशत पुगेको छ । सरकारले २०८४ असोजसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

नयाँ ठेकेदार छनोटका लागि आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला विभागका महानिर्देशक र आयोजना निर्देशक नियन्त्रणमा परेपछि अब बोलपत्र प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अघि बढ्छ कि बढ्दैन भन्ने प्रश्न उठेको छ ।

उनीहरूलाई नियन्त्रणमा लिनुको औपचारिक कारण सार्वजनिक नभएकाले ठेक्का प्रक्रियामा यसको प्रभाव र आगामी निर्णयबारे थप स्पष्टता आउन बाँकी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सुनकोशी मरिणको नयाँ ठेक्का खुल्नै लाग्दा महानिर्देशक र आयोजना प्रमुख नियन्त्रणमा


तपाईको कमेन्ट लेख्नुहोस्