Techie IT
शनिबार, भदौ २०,२०८३

भोटेकोशी बाढीको ११ औं दिन : ३५ देशका ६ सय विदेशी नागरिकसहित ५ हजार अझै सम्पर्कविहीन


काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा खोज तथा उद्धार कार्य आज ११ औं दिन पनि तीव्र रूपमा जारी छ ।

परराष्ट्र मन्त्रालयले शनिबार दिउँसो २ बजेसम्मको अवस्थाबारे जारी गरेको पछिल्लो विवरण अनुसार बाढीका कारण हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ भने करिब ५ हजार नागरिक अझै बेपत्ता छन् ।

बेपत्ता हुनेमा ३५ देशका करिब ६ सय विदेशी नागरिक समेत छन् ।

मन्त्रालयका अनुसार विपद्पछि हालसम्म ३०० भन्दा बढी विदेशीसहित कुल १३ हजार ९८ जनाको जीवितै उद्धार गरिएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४ जनालाई जीवितै उद्धार गर्न सफलता मिलेको छ । जसमा माथिल्लो त्रिशूली ३ ‘ए’को सुरुङबाट २ नेपाली, माथिल्लो त्रिशूली १ बाट १ चिनियाँ नागरिक र बेत्रावतीस्थित एक घरबाट १ नेपाली नागरिक रहेका छन् ।

यस्तै, त्रिशूली ३ ‘ए’को सुरुङबाट शुक्रबार थप एक जनाको शव निकालिएको छ ।

अन्तर्राष्ट्रिय उद्धार टोली र प्राविधिक परिचालनमाथिल्लो त्रिशूली १, माथिल्लो त्रिशूली ३ ‘ए’, ३ ‘बी’, यु २१६ हाकु, चिलिमे तथा लाङटाङ लगायतका क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा नेपाली सेनाको समन्वयमा भारत, चीन र दक्षिण कोरियाका विशेष सुरुङ उद्धार टोलीहरू परिचालित छन् ।

खोज कार्यलाई प्रभावकारी बनाउन छिमेकी तथा मित्रराष्ट्रहरूबाट प्राप्त अत्याधुनिक उपकरण, ड्रोन र लोड क्यारियरहरूको प्रयोग भइरहेको छ ।

यसैबीच, अस्ट्रेलियाको १५ सदस्यीय ‘डार्ट’ टोली शुक्रबार र मलेसियाको ११ सदस्यीय ‘स्मार्ट’ टोली शनिबार बिहान काठमाडौं आइपुगेर कार्यक्षेत्रमा खटिएका छन् ।

हालसम्म २४ वटा उडानमार्फत विभिन्न देश तथा अन्तर्राष्ट्रिय नियोगहरूबाट राहत सामग्री तथा उद्धार टोली नेपाल भित्रिइसकेका छन् । उच्चस्तरीय कूटनीतिक ऐक्यबद्धताविपद्को यस घडीमा प्रधानमन्त्री बालेन्द्र साह र परराष्ट्रमन्त्री शिशिर खनालसँग विभिन्न मुलुकका समकक्षी तथा विशिष्ट विदेशी कूटनीतिज्ञहरूले टेलिफोन संवाद गरी समवेदना तथा सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । यसै सन्दर्भमा दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन शनिबार साँझ काठमाडौं आइपुग्दै छन् ।

नेपालले खोज, उद्धार तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमतायुक्त ड्रोन, एलआईडिएआर, बेलीब्रिज, महामारी नियन्त्रण सामग्री, डीएनए परीक्षण किट, शव संकलन ब्याग, ग्राउन्ड पेनेट्रेटिङ रडार, मोबाइल एयर ट्राफिक कन्ट्रोल प्रणाली लगायतका प्राविधिक सामग्री सहयोगका लागि थप अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार गल्छी–त्रिशूली सडक सञ्चालनमा ल्याउन नेपाली सेनाको इन्जिनियरिङ टोलीले तादी खोलामा अस्थायी पुल निर्माणको काम अघि बढाएको छ । स्थानीय आवतजावत सहज बनाउन त्रिशूली इन्द्रेणीघाट र देवीघाटमा दुईवटा तुइन सञ्चालनमा ल्याइएको छ ।

चीनको केरुङ क्षेत्रमा रहेका नेपालीमध्ये १५५ जना शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् भने थप १२७ जना शनिबार सोही नाकाबाट फर्कने क्रममा छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भोटेकोशी बाढीको ११ औं दिन


तपाईको कमेन्ट लेख्नुहोस्