Techie IT
शनिबार, भदौ ६,२०८३

कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा पक्षले मुद्दा हाल्ने


काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै  सर्वोच्च जाने भएको छ ।

इतर पक्षका नेता डा. शशांक कोइराला निवासमा बसेको शीर्ष नेताहरूको बैठकले भोलि सर्वोच्च जाने निर्णय गरेको हो । भोलि अदालत जाने गरी कानून व्यवसायीले तयारी गरिरहेको नेता एनपी साउदले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘शीर्ष नेताहरूको समन्वयमा साथीहरूले तयारी गरिराख्नुभएको छ। भोलि मुद्दा दर्ता हुन्छ।’

पूर्वसभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट बेग्लाबेग्लै निवेदन दर्ता हुने उनले बताए।

उनले थपे, ‘सुरुदेखि नै उहाँहरूले बेग्लाबेग्लै निवेदन दिइराख्नुभएको छ। विषयवस्तु एउटै भएपनि भोलि छुट्टाछुट्टै दिने गरी तयारी भइरहेको छ।’

देउवा समूहले गगन थापा नेतृत्वका कार्यसमितिलाई अस्वीकार गर्दै हालैको भेलाबाट देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा पक्ष


तपाईको कमेन्ट लेख्नुहोस्