Techie IT
सोमबार, भदौ १,२०८३

आजदेखि आफूलाई पायक पर्ने बिक्रेताबाट ग्यास खरिद गर्न निगमको आग्रह


काठमाडौं । नेपाल आयल निगमले आजदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रिया अनुसार ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ ।

निगमले एक सूचना जारी गर्दै आफूलाई पायक पर्ने बिक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको हो ।

निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको जनाएको छ ।

ग्यास बिक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार पारी अनिवार्य रूपमा सम्बन्धित उद्योगलाई बुझाउनुपर्नेछ । सम्बन्धित उद्योगले उक्त विवरण सोही दिन निगमलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको हो ।

अत्यावश्यक घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखी ग्यास बिक्री गर्न निगमले आग्रह गरेको छ । साथै, ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #आजदेखि आफूलाई पायक पर्ने बिक्रेताबाट ग्यास खरिद गर्न निगमको आग्रह


तपाईको कमेन्ट लेख्नुहोस्