Techie IT
बिहीबार, साउन २८,२०८३

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो


रोल्पा । रोल्पामा पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । ९ जना बेपत्ता भएका छन् भने २ जना घाइतेको उद्धार गरिएको छ ।

रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा बुधबार राति घरमाथिबाट पहिरो झरेको थियो । पहिरोमा कमलबहादुर पुनमगरलगायत ६ वटा घर गोठहरु पुरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परेर थबाङ गाउँपालिका–५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ति पुन मगर र ७१ वर्षीया मनरखी पुनमगरको मृत्यु भएको छ ।

पहिरोमा परेर २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन् ।

प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धार कार्य जारी राखिएको छ ।

बेपत्ता हुनेमा सोही ठाउँकी ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय डलबहादुर पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो


तपाईको कमेन्ट लेख्नुहोस्