निर्मल पुर्जाः हिमालले चिनिए, हिमालमै अस्ताए
काठमाडौं। विश्व पर्वतारोहण क्षेत्रमा सबैभन्दा चर्चित नाममध्ये एक हुन् निर्मल पुर्जा ‘निम्सदाइ’।
नेपाली मूलका बेलायती नागरिक पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर त्यतिबेलाको विश्व कीर्तिमान कायम गरेका थिए।
४३ वर्षीय पुर्जा पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिकमा बिहीबार आएको हिमपहिरोमा परी अस्ताएका छन्।
उक्त हिमपहिरोमा ‘निम्स दाई’सहित पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पाको निधन भएको छ। उनीहरुसँगै ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी र चीनका वाङ जोङ पनि थिए।
निर्मल पुर्जाको जन्म २५ जुलाई १९८३ मा म्याग्दी जिल्लाको करिब १,६०० मिटर उचाइमा रहेको एउटा सानो गाउँ दानामा भएको हो।
उनका बुबा र दाजुहरूजस्तै उनले पनि १८ वर्षको उमेरमा सन् २००३ मा ब्रिटिश गोरखा रेजिमेन्टमा भर्ती भए। त्यसपछि सन् २००९ मा बेलायतको स्पेसल बोट सर्भिस एसबीएस विशेष फौजमा आबद्ध भए।
ब्रिटिश सेनामा १६ वर्ष सेवा गर्ने क्रममा उनको पर्वतारोहणप्रति रुचि बढ्दै गयो। सन् २००३ मा ब्रिटिस सेनामा पुगेका पुर्जालाई सन् २०१८ मा रानी एलिजावेथले एमबीई प्रदान गरेकी थिइन्।
सन् २०१२ मा उनी सगरमाथा आधार शिविर पुगे। त्यहाँबाट काठमाडौं फर्किने योजना त्यागेर उनले वास्तविक रूपमा पर्वतारोहण सिक्ने निर्णय गरे।
त्यसपछि उनले ६,११९ मिटर अग्लो लोबुचे ईस्ट आरोहण गरे, जुन उनको पहिलो हिमाल थियो।
यही साहसी सोचले उनलाई विश्वका सबैभन्दा सफल पर्वतारोहीमध्ये एक बनायो।
निर्मल पुर्जाले यसपटक सुरुमा ग्यासरब्रुम–२ (जी–२) मात्र आरोहण गर्ने योजना बनाएका थिए।
तर पाकिस्तान जानुअघि उनले ब्रड पिक पनि आरोहण गर्न सकेमा अक्सिजनबिना विश्वका १४ वटा आठहजारे हिमाल दुई पटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्न अब एउटा हिमाल मात्र बाँकी रहने महसुस गरे।
बेपत्ता हुनुभन्दा केही दिनअघि सामाजिक सञ्जाल एक्समा उनले लेखेका थिए, ‘यो योजना पहिले बनाएको थिएँ भन्ने होइन। अवसरहरू चिच्याएर आउँदैनन्, चुपचाप मेहनत गरिरहेकाहरूलाई फुसफुसाएर आउँछन्।’
उनले ब्रड पिकबारे लेखेका थिए, ‘म ब्रड पिकसँग सुरक्षित रूपमा माथि पुगेर फर्किन सकूँ भन्ने बाहेक केही माग्दिनँ। कुनै पनि हिमाललाई म कहिल्यै सामान्य ठान्दिनँ।’
यसअघि उनले जुलाई २१ मा ग्यासरब्रुम–२ सफलतापूर्वक आरोहण गरेका थिए। त्यो उनको ८ हजार मिटरभन्दा अग्ला हिमालको ५७औँ सफल आरोहण थियो।
१४ हिमाल आरोहणको ऐतिहासिक कीर्तिमान
सन् २०१९ मा पुर्जाले ‘प्रोजेक्ट पसिबल’ नाम दिएर सुरु गरेको अभियानमा विश्वका सबै १४ वटा आठहजार माथि उचाई भएका हिमाल ६ महिना ६ दिनमा आरोहण गरे।
त्यसबेलासम्मको कीर्तिमान करिब आठ वर्षको थियो।
उनको यो कीर्तिमान पछि सन् २०२३ मा नर्वेली पर्वतारोही क्रिस्टिन हरिलाले ३ महिना १ दिनमा सबै १४ हिमाल आरोहण गर्दै तोडेकी थिइन्।
निर्मल पुर्जाको ‘प्रोजेक्ट पसिबल’ यात्रामाथि आधारित ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्रीले विश्वव्यापी चर्चा पाएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निर्मल पुर्जाः
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्