Techie IT
आईतबार, साउन १०,२०८३

तारकेश्वर तीनपिप्लेमा रोटरीको दीर्घकालीन हरित पहलः २०० फलफूल तथा वनस्पतिजन्य वृक्षारोपण कार्यक्रम


काठमाडौं, १० साउन। रोटरी क्लब अफ काठमाडौं नर्थले हरियाली भविष्य निर्माण गर्ने उद्देश्यसहित काठमाडौंको तारकेश्वर नगरपालिका–५, तीनपिप्लेमा २०० वटा फलफूल, फूल तथा वनस्पतिजन्य बिरुवा रोपेको छ।

आजको एउटा बिरुवा, भोलिको सुन्दर भविष्यू भन्ने नारासहित हरिशयनी एकादशीको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम रोटरी क्लब अफ काठमाडौं नर्थको नेतृत्वमा चार वटा रोटर्याक्ट क्लबको सहकार्य तथा ग्रीन भ्याली ग्रीन नेपालको समन्वयमा शनिबार सम्पन्न भएको हो।

कार्यक्रमअन्तर्गत अम्बा, अमला, लप्सी, जामुन, एभोकाडो लगायतका फलफूलका बिरुवासँगै ज्याक्रान्डा, तेजपत्ता, कपुर, चाँप, कल्की, पारिजातलगायतका विभिन्न फूल तथा वनस्पतिजन्य प्रजातिका बिरुवा रोपिएको क्लबकी अध्यक्ष सीता पौडेलले जानकारी दिइन्।

उनका अनुसार यो अभियान रोटरी डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरिरहेको राष्ट्रव्यापी ूएक लाख बिरुवा रोपण अभियानू लाई सफल बनाउन गरिएको हो। कार्यक्रममा रोटेरियन, रोटर्याक्टर तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो।

वृक्षारोपण कार्यक्रममा रोटर्याक्ट क्लब अफ काठमाडौं नर्थ, रोटर्याक्ट क्लब अफ काठमाडौं मेडिकल कलेज, रोटर्याक्ट क्लब अफ कान्तिपुर डेन्टल कलेज तथा रोटर्याक्ट क्लब अफ रिलायन्स कलेजको सहभागिता रहेको थियो।

अध्यक्ष पौडेलले वृक्षारोपणले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका साथै जलवायु परिवर्तनको असर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्। यस्ता अभियानले भावी पुस्ताका लागि स्वच्छ, सुरक्षित र दिगो वातावरण निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

वृक्षारोपणपछि आयोजित क्लबको १४०३औँ नियमित साप्ताहिक बैठकमा अध्यक्ष पौडेलले बिरुवाको संरक्षणलाई प्राथमिकता दिइने बताइन्। उनका अनुसार बिरुवाको दैनिक रेखदेखको जिम्मेवारी स्थानीय समुदायलाई दिइएको छ भने क्लबले नियमित अनुगमन र संरक्षणमा निरन्तर सहयोग गर्नेछ।

उनले भनिन्, आज हामीले रोपेका यी २०० बिरुवा केवल रुख होइनन्, भविष्यका लागि आशा, स्वच्छ वातावरण र दिगो विकासका आधारस्तम्भ हुन्। बिरुवा रोप्नु मात्रै पर्याप्त हुँदैन, त्यसलाई हुर्काएर हरियालीमा रूपान्तरण गर्नु नै हाम्रो वास्तविक जिम्मेवारी हो। यस्ता परिणाममुखी सेवामार्फत अभियानलाई निरन्तरता दिँदै जानेछौं।ू

रोटरी डिस्ट्रिक्ट ३२९२ ले यस वर्ष वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गर्दै फ्लेक्स ब्यानरको प्रयोग निरुत्साहित गरेको छ। सोही नीतिअनुसार क्लबले फ्लेक्सको सट्टा डिजिटल ब्यानर, रोटरी लोगो अंकित टी–सर्ट, क्यापलगायतका वातावरणमैत्री ब्रान्डिङ सामग्री प्रयोग गरेको क्लबका पास्ट प्रेसिडेन्ट तथा मेन्टर गोपालराज पोखरेलले जानकारी दिए।

कार्यक्रममा बोल्दै पास्ट प्रेसिडेन्ट डा। बुद्धिमान श्रेष्ठले स्थानीय समुदाय र स्वयंसेवकहरूको सक्रिय श्रमदानले अभियानलाई सफल बनाएको बताए। उनले रोटरीले वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै विगतदेखि चितवनको जमुनापुर, काठमाडौंको रानीवारी, भक्तपुरको कलामसीलगायत विभिन्न स्थानमा नियमित वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे।

यसैगरी, क्लबका पास्ट प्रेसिडेन्ट तथा टीआरएफ चेयर गौतमप्रसाद खनालले वृक्षारोपणलाई एकदिने कार्यक्रम मात्र नभई भावी पुस्ताप्रतिको उत्तरदायित्वका रूपमा लिनुपर्ने बताए।

क्लब एडमिन चेयर गणेश पौडेलले यस्ता अभियानबाट वातावरणीय सन्तुलन कायम गर्न, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, जैविक विविधता संरक्षण गर्न, स्वच्छ हावा र माटो संरक्षणमा योगदान पुग्नुका साथै भविष्यमा स्थानीय समुदायले फलफूलबाट प्रत्यक्ष लाभ लिन सक्ने विश्वास व्यक्त गरे।

रोटरी क्लब अफ काठमाडौं नर्थले आगामी दिनमा पनि वातावरण संरक्षण, समुदाय विकास तथा दिगो सेवा परियोजनालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

क्लबले रोटरी वर्ष २०२६–२७ मा शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, वातावरण संरक्षण तथा प्रवर्द्धन, सामुदायिक विकास, युवा तथा महिलाको क्षमता अभिवृद्धि, सदस्यता विस्तार तथा रोटरीको सार्वजनिक छवि सुदृढीकरणलाई प्राथमिकतामा राखी विभिन्न सेवा परियोजना सञ्चालन गर्ने रणनीति अवलम्बन गरेको जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वर तीनपिप्लेमा रोटरीको दीर्घकालीन हरित पहलः २०० फलफूल तथा वनस्पतिजन्य वृक्षारोपण कार्यक्रम


तपाईको कमेन्ट लेख्नुहोस्