Techie IT
शनिबार, साउन ९,२०८३

सामाखुसी–टोखा–झोर सडक विस्तार: सम्पदा संरक्षणको माग गर्दै स्थानीयको प्रदर्शन


काठमाडौं । सामाखुसी–टोखा–झोर सडक विस्तारका कारण प्रभावित स्थानीयवासीले विकासका नाममा ऐतिहासिक सम्पदा, मौलिक बस्ती र समुदायको पहिचान नष्ट गर्न नहुने भन्दै बुधबार टोखा नगरपालिका–३ मा विरोध प्रदर्शन तथा कोणसभा गरेका छन्।

गैरन्यायिक सडक विस्तार पीडित संघको आयोजनामा भएको उक्त कार्यक्रम साउन ९ गते टोखा नगरपालिका–२ र ३ मा आयोजना हुने बृहत् सार्वजनिक भेलाको पूर्वतयारीका रूपमा गरिएको हो।

कार्यक्रमअघि प्रभावित स्थानीयहरू ससुख्य चौरमा भेला भएर ‘सम्पदा मास्न पाइँदैन’, ‘सम्पदा हाम्रो प्राण हो’ र ‘आदिवासीको अधिकार सुनिश्चित गर’ लगायतका नारासहित टोखाको ऐतिहासिक बस्तीका वडा नं. २ र ३ को परिक्रमा गरेका थिए। र्‍यालीपछि पुनः ससुख्य चौरमै कोणसभा सम्पन्न भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै सडक संघर्ष पीडित संघका सदस्य तथा समाजसेवी धर्म डंगोलले विकास आवश्यक भए पनि त्यसका नाममा इतिहास, संस्कृति र समुदायको पहिचान मेटिन नहुने बताए।

उनले सम्पदा र संस्कृति कुनै भौतिक संरचनामात्र नभई समुदायको इतिहास, पहिचान र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको जीवनशैलीको अभिन्न हिस्सा भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गरे।

“हामी विकासविरोधी होइनौं,” उनले भने, “तर विकासका नाममा हुने विनाशको विरोधमा छौं। विकासले नागरिकको जीवन सहज बनाउनुपर्छ, आफ्नो पहिचान, संस्कृति र सम्पदा गुमाउने अवस्था सिर्जना गर्नु हुँदैन।”

डंगोलले सडक विस्तार वा अन्य विकास आयोजना अघि बढाउनुअघि वातावरणीय, भौगोलिक, सांस्कृतिक तथा पर्यावरणीय प्रभावको गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिए। साथै, वैकल्पिक मार्गको सम्भावनालाई समेत गम्भीर रूपमा मूल्याङ्कन गरेर मात्रै निर्णय लिनुपर्ने उनको भनाइ थियो।

उनले स्थानीय समुदायसँग पर्याप्त संवाद, सहकार्य र सहमतिका आधारमा योजना कार्यान्वयन गरिए मात्र विकास र सम्पदा संरक्षणबीच सन्तुलन कायम गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले विकास आवश्यक भए पनि त्यो ऐतिहासिक सम्पदा, मौलिक बस्ती र समुदायको अस्तित्व जोगाउने गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले विकासले सडक मात्र विस्तार नगरी इतिहास, संस्कृति र स्थानीय पहिचानसमेत संरक्षण गर्नुपर्ने माग गरेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सामाखुसी–टोखा–झोर सडक विस्तारमा स्थानीयको आपत्ति


तपाईको कमेन्ट लेख्नुहोस्