Techie IT
बुधबार, साउन ६,२०८३

गंगबुस्थित एक होटलमा युवतीको शव पलङमुनि फेला , यस्तो छ घटनाको रहस्य


काठमाडौं । काठमाडौंको गंगबुस्थित एक होटलमा युवतीको शव पलङमुनि लुकाइएको अवस्थामा फेला परेको घटनाको रहस्य खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा एक लाख रुपैयाँ चोरी भएको रिस र प्रतिशोधका कारण हत्या भएको निष्कर्ष निकालेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दैलेखका रमेश बुढा असार ३१ गते कास्कीबाट घर फर्किने क्रममा एक लाख रुपैयाँ बोकेर नयाँ बसपार्क पुगेका थिए । सोही क्रममा उनको भेट कैलाली घर भई काठमाडौंको माछापोखरी बस्दै आएकी २५ वर्षीया निशा सुनारसँग भएको थियो ।

प्रहरीका अनुसार निशाले होटल जाने प्रस्ताव गरेपछि उनीहरू गंगबुस्थित होटल माउन्टेन एल्सिभामा पुगे । होटलको कोठा भने रमेशका साथी दानबहादुर शाहीको नाममा बुक गरिएको थियो ।

अनुसन्धानबाट खुलेअनुसार होटल पुगेपछि निशाले रमेशलाई नुहाउन पठाइन् । उनी बाथरूममा रहेको बेला रमेशको खल्तीबाट एक लाख रुपैयाँ लिएर फरार भएकी थिइन् । पैसा हराएको थाहा पाए पनि रमेशले तत्काल प्रहरी वा होटल व्यवस्थापनलाई जानकारी गराएका थिएनन् ।

भोलिपल्ट भेट, त्यसपछि हत्या

प्रहरीका अनुसार अर्को दिन रमेश फेरि नयाँ बसपार्क पुगे । त्यहाँ उनको पुनः निशासँग भेट भयो । यसपटक निशाले मास्क लगाएकी थिइन् र फेरि होटल जाने प्रस्ताव राखेकी थिइन् ।

पहिलेदेखि नै कोठा बुक गरिसकेका रमेशले उनलाई पुनः सोही होटलमा लगे । कोठाभित्र पुगेपछि रमेशले निशाको मास्क हटाइदिएपछि दुवैबीच विवाद सुरु भएको प्रहरीको भनाइ छ ।

अनुसन्धानका क्रममा निशाले बियरको बोतल प्रहार गरेपछि रमेशले बोतल खोसेर उनको टाउकोमा प्रहार गरेका थिए । त्यसपछि आफ्नै बेल्टले घाँटी कसेर हत्या गरेको प्रहरीको दाबी छ ।

पलङमुनि शव, दुई रातसम्म कसैलाई थाहा भएन

हत्यापछि रमेशले शव पलङमुनि लुकाएर होटलबाट बाहिरिएको प्रहरीले जनाएको छ ।

घटनाको अर्को चकित पार्ने पक्ष भने, शव लुकाइएको त्यही कोठामा रमेशका साथी दानबहादुर शाही र उनका साथीहरू दुई रातसम्म बसेर मदिरा सेवन गरिरहे पनि पलङमुनि शव रहेको कसैले थाहा नपाएको हो ।

साउन ३ गते बिहान कोठाबाट दुर्गन्ध आउन थालेपछि होटलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले घटनास्थल पुगेर शव फेला पारेको थियो ।

सीसीटीभी र मोबाइलबाट आरोपी पक्राउ

प्रहरीले होटलको सीसीटीभी फुटेज, आगन्तुकको विवरण तथा मोबाइल नम्बरको आधारमा अनुसन्धान अघि बढाएको थियो । सुरुमा दानबहादुर शाही पक्राउ परेपछि अनुसन्धान मुख्य आरोपी रमेश बुढासम्म पुगेको प्रहरीले जनाएको छ ।

हाल रमेश बुढा र दानबहादुर शाहीविरुद्ध कर्तव्य ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #गंगबुस्थित एक होटलमा युवतीको शव पलङमुनि फेला, #यस्तो छ घटनाको रहस्य


तपाईको कमेन्ट लेख्नुहोस्