Techie IT
शनिबार, असार १३,२०८३

मदन भण्डारीको जन्मजयन्तीमा टोखामा रक्तदान कार्यक्रम, ५० जनाद्वारा रक्तदान


काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज मंगलबार ७१औँ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाएका छन । एमाले र उसका विभिन्न जनसङ्गठनहरूले मंगलबार विभिन्न कार्यक्रम गरी मदन जयन्ती मनाएका हुन्।

एमाले र उसका जनसङ्गठनले मदन जयन्तीका अवसरमा पछिल्ला केही दिन विभिन्न कार्यक्रम गरिरहेका छन्।
यसै क्रममाा नेकपा एमाले नगर कमिटी टोखाको आयोजनामा शनिबार टोखा नगरपालिका वडा नं. ७ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन भएको कार्यक्रममा ५० जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। रक्तदान गर्नेहरूमध्ये २७ जना पुरुष र २३ जना महिला रहेका आयोजकले जनाएको छ।

रक्त अभाव न्यूनीकरण गर्नुका साथै सामाजिक सेवाको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा प्रदेश, जिल्ला, नगर तथा वडा कमिटीका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमबारे जानकारी दिँदै एमाले नगर कमिटी टोखाका अध्यक्ष गोपी पाठकले जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए।

आयोजकले रक्तदानजस्तो मानवीय कार्यमा सहभागी भई कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण रक्तदाता, स्वयंसेवक तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #मदन भण्डारीको जन्मजयन्तीमा टोखामा रक्तदान


तपाईको कमेन्ट लेख्नुहोस्