Techie IT
शनिबार, असार १३,२०८३

तारकेश्वर नगरपालिकाको विज्ञप्तिप्रति तारकेश्वरका पत्रकारको आपत्ति, प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए ज्ञापनपत्र


काठमाडौं, असार १२ — तारकेश्वर नगरपालिकाले हालै जारी गरेको ‘ध्यानाकर्षण’ विज्ञप्तिप्रति स्थानीय पत्रकार तथा सञ्चारकर्मीहरूले कडा आपत्ति जनाएका छन्। नगरपालिकाको उक्त कदमले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै उनीहरूले शुक्रबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साललाई संयुक्त ज्ञापनपत्र बुझाएका हुन्।

पत्रकारहरूको भनाइमा नगरपालिकाले असार ११ गते जारी गरेको विज्ञप्तिले समग्र पत्रकार समुदायप्रति अविश्वास, पूर्वाग्रह र अनावश्यक आरोप लगाउने प्रयास गरेको देखिन्छ।

ज्ञापनपत्रमा संविधानद्वारा सुनिश्चित प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचनाको हकलाई स्मरण गराउँदै सार्वजनिक निकायका गतिविधि, सेवा प्रवाह तथा जनचासोका विषयमा समाचार सम्प्रेषण गर्नु पत्रकारको पेशागत दायित्व भएको उल्लेख गरिएको छ।

पत्रकारहरूले कुनै समाचारप्रति असहमति वा गुनासो भए कानुनी उपचार खोज्ने स्पष्ट व्यवस्था हुँदाहुँदै चेतावनीपूर्ण शैलीमा विज्ञप्ति जारी गर्नु अनुचित भएको बताएका छन्। ज्ञापनपत्रमा भनिएको छ,
“कुनै समाचार तथ्यहीन वा आचारसंहिताविपरीत भएमा प्रेस काउन्सिल नेपाल वा अदालतमा जाने कानुनी व्यवस्था छ। तर, त्यसलाई बेवास्ता गर्दै सम्पूर्ण पत्रकार समुदायलाई लक्षित गरी चेतावनीपूर्ण विज्ञप्ति जारी गर्नु प्रेस स्वतन्त्रतामाथिको सिधा हस्तक्षेप हो।”

साथै, केही जनप्रतिनिधिहरूबाट पत्रकारहरूमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष दबाब र धम्की आउने गरेको आरोप समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ। नगरपालिकासम्बन्धी समाचार प्रकाशन वा प्रसारण भए ‘सामूहिक प्रतिकार गर्ने’ जस्ता अभिव्यक्ति सार्वजनिक पदमा रहेका व्यक्तिहरूबाट आउनु निन्दनीय र अक्षम्य भएको पत्रकारहरूको भनाइ छ।

कुनै एक सञ्चारमाध्यमको समाचार वा सामाजिक सञ्जालमा व्यक्त व्यक्तिगत धारणालाई आधार बनाएर सम्पूर्ण पत्रकार जगतमाथि प्रश्न उठाउनु अनुचित हुने उनीहरूको धारणा छ।

पत्रकारहरूले नगरपालिकासमक्ष निम्न माग राखेका छन्:

  • पत्रकारप्रतिको पूर्वाग्रही दृष्टिकोण तत्काल अन्त्य गरियोस्।
  • पत्रकार समुदायमाथि लगाइएका अप्रत्यक्ष तथा लाञ्छनायुक्त आरोप फिर्ता लिइयोस्।
  • प्रेस स्वतन्त्रताको सम्मान गर्दै सार्वजनिक रूपमा स्पष्ट धारणा राखियोस्।

यस विषयमा नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल सरकारको समेत ध्यानाकर्षण गराइएको छ।

ज्ञापनपत्रमा तारकेश्वर क्षेत्रमा क्रियाशील पत्रकारहरू रबिन प्रसाद थपलिया, रामशरण न्यौपाने, ऋषि बस्याल, मनोज गजुरेल, रमित बलामी, सनत आचार्य लगायत अन्य सञ्चारकर्मीहरूको हस्ताक्षर रहेको छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले पत्रकारहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको बताएका छन्। उनले सम्बन्धित पक्ष र सरोकारवालासँग आवश्यक छलफल गरी सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिकाको विज्ञप्तिप्रति तारकेश्वरका पत्रकारको आपत्ति


तपाईको कमेन्ट लेख्नुहोस्